
पर्वत, आषाढ ६ । पर्वतको होस्राङ्दीस्थित पैंयुकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रयास शुरु भएको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिने पैंयुकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको हो ।
पाँच सय बर्षभन्दा पुरानो पैंयुकोट दरबार र कालिका मन्दिरलाई पैंयु क्षेत्रको ऐतिहासिक सामाग्रीसहितको संग्राहलय बनाउने र त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्यले अभियान थालिएको हो ।
एक बर्षभित्रमा संग्राहलयका लागि भवन निर्माणको काम थालिने पैंयुकोट संरक्षण समितिले जनाएको छ । पाँच सय बर्ष पहिले सेन राजाहरुले बनाएको मन्दिर र अग्ला डाँडाबाट रमणीय दृश्यावलोकन गर्न सकिने कारण आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीयले बताएका छन् ।
शालिग्राम शिलादेखि पैंयुकोट हुँदै गोलाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिने तथा यसलाई दक्षिण एसियाकै पहिलो ग्रामिण पर्यटकीय गाउँ सिरुवारी तथा डहरे र पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्गसमेत बनाउन सकिने पैंयुकोट संरक्षण समितिले जनाएको छ ।
