
काठमाडौं, आषाढ ७ । नेपाल उद्योेग वाणिय महासंघका पूर्वअध्यक्षहरुले भावी नेतृत्व सर्वसम्मत गर्न आग्रह गरेका छन् । ‘मुलुक विषम परिस्थितिमा रहेको र निजी क्षेत्र गम्भीरताका साथ एक भएर सशक्त ढंगले लाग्नुपर्ने भएकाले आगामी अध्यक्ष सर्वसम्मतरुपमा बनाउन आफूहरु पनि लाग्न’ उनीहरुले सहमति नै गरेका छन् ।
महासंघका नौजना नै पूर्वअध्यक्षहरुले महासंघको नयाँ नेतृत्व सर्वसम्मतमा छान्न अधिकतम प्रयासका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पूर्वअध्यक्षहरुले सोमबार पत्रकार सम्मेलन गरी आफूहरु व्यक्तिगत स्वार्थका लागि नभइ संगठनको साखका लागि सर्वसम्मत नेतृत्वका लागि लागि परेको दाबी गरे । उनीहरुले आफूहरु कोही पनि चुनावमा नउठ्ने पनि घोषणा गरे ।
विधानमा नभएपनि उनीहरुले महासंघका पदाधिकारीले उम्मेदारी दिन वर्तमान पदबाट राजीनामा दिनुपर्ने सहमतिसमेत गरेका छन् ।
पूर्वअध्यक्ष महेशलाल प्रधानले ‘आम नेपाली जनताहरु प्राकृतिक विपत्तिमा जुधिरहेको अवस्थामा नेपालको निजी क्षेत्र एक ढिक्का भएर आर्थिक विकासमा लाग्नुको विकल्प नभएको’ उल्लेख गरे ।
महासंघको ४८औं साधरणसभाबाट निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि अध्यक्ष पद रिक्त छ । बाँकी २१ महिना अवधिका लागि यही आषाढ १८ गते महासंघ अध्यक्ष पदकालागि निर्वाचन हुँदैछ ।
महासंघको भावी नेतृत्वका लागि कार्यबाहक अध्यक्ष पशुपति मुरारका, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षद्धय भवानी राणा र दिनेश श्रेष्ठले दाबेदारी दिने देखिएको छ ।
पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले आफूहरुको कुनै स्वार्थ नरहेको र नेतृत्वमा आउने कुनै सहमति नभएको स्पष्ट पारे ।
‘निजी क्षेत्र प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने संस्था भएपनि विशेष परिस्थिति भएकाले विभाजन नभइ एकमत हुने प्रयासस्वरुप सर्वसम्मतिका लागि लागिपरेको’ पूर्वअध्यक्षहरुले बताएका छन् ।
