
रञ्जन अधिकारी पोखरा, ९ असार । दुवै मृगौलाले काम नगरेका डिलबहादुर नेपालीका छोरा सुजन नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सिन्धुली दुम्झा ३ कुशेश्वर घर भई अहिले पोखरामा अध्ययन गर्दै आएका सुजनलाई अमेरिकाबाट गीता भट्टराईले पठाएको दुई सय डलर (२० हजार बढि) रकम हस्तान्तरण गरिएको हो । गत जेठ २१ गते उनको बारेमा बिग एफएमले रिपोर्ट बजाएको थियो ।
आर्थिक अवस्थाका कारण उपचार समेत गर्न नसकिएको र पियुमा छात्रवृत्तिमा नाम निस्केर पोखरा आएकोमा पढाई समेत अगाडि बढाउन असमर्थ भएपछि उनको बारेमा सहयोगको याचना सहित समाचार प्रकाशित भएको हो । समाचार प्रभावले अमेरिका मिलवाउकी, विसकोन्सिन बस्दै आएकी नवलपरासी पितौजीकी भट्टराईले दुई सय डलर समाजसेवी विजया गिरी मार्फत सहयोग संकलन अभियान चलाईरहेका पत्रकार रञ्जन अधिकारीलाई पठाएकी थिईन् । प्राप्त सहयोग नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेलले सुजनलाई हस्तान्तरण गरिन् ।
पत्रकार पौडेलले सामाजिक न्यायका लागि परोपकारी पत्रकारिता आवश्यक रहेको बताईन् । पत्रकारहरु नेताको भाषण र औपचारिक कार्यक्रममा सीमित भए जागिर खानु बाहेक उसले समाजमा केहि योगदान नदिने भन्दै थपिन् ‘पत्रकारको कलमको शक्ति यस्ता समाचारहरुमा खर्चनुपर्छ । जसले समाजका लागि केहि गरोस् । नत्र पत्रकारको नामको ट्याग र उसले पाउने महिनाबारी तलब बाहेक केहि योगदान रहन्न ।’
उनले सुजन नेपालीको क्षमताको प्रशंसा गर्दै आत्मविश्वषसका साथ अघि बढ्न आग्रह गर्दै आफ्नो ठाउँबाट सक्दो सहयोग रहने बचनबद्धताप्रकट गरिन् । सुजनलाई डेरामा बस्न समस्या भएपछि समाजसेवी मोहनराज बरालले छोरेपाटन स्थित ब्राईट फ्युचर होस्टलमा आवासको व्यवस्था गरिदिएका छन् ।
हालसम्म ७० हजार बढि सहयोग संकलन भएको छ । यस्तै, बन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीहरुले ११ हजार नौ सय ५६ रुपैंया संकलन गरी हस्तान्तरण गरेका छन् । अभियन्ता दिवस गुरुङको पहलमा पहिलो वर्ष सेक्सन ए का विद्यार्थीहरुले चार हजार चार सय २१, सेक्सन बीबाट दुई हजार दुई सय १०, दोस्रो वर्षका विद्यार्थीबाट तीन हजार दुई सय ७५, चौथो वर्षका विद्यार्थीहरुबाट दुई हजार ५० रुपैंया संकलन भएको थियो ।
डेनमार्कमा पिएचडी गरिरहेका हिरालाल गदाइलीले हाललाई १० हजार पठाउने वचन दिएका छन् । यसअघि, अमेरिका निवासी पोखरा ५ मालेपाटनकी विजया गिरीले १० हजार, हङकङ निवासी सिर्जना मल्लले १० हजार रुपैंया लायन्स क्लब अफ पोखरा बिन्दबासिनीका संस्थापक अध्यक्ष बोधराज कार्कीले नगद पाँच हजार पाँच सय पाँच, सिद्धार्थ ईन्स्योरेन्स, पोखराका म्यानेजर गोविन्दप्रसाद देवकोटाले पाँच हजार, बिरौटा क्लबका अध्यक्ष सुर्यप्रसाद बरालले पाँच हजार, सिन्धुलीका अम्रेश पोखरेलले क्यानडाबाट पाँच हजार, पोर्चुगलका निश्चल खत्रीले दुई हजार, पाल्पाका विक्रम कुँवरले एक हजार, लायन्स क्लब अफ पोखरा बिन्दबासिनीका ललित बानियँँले एक हजार सहयोग गरिसकेका छन् ।
भुकम्प पीडित मध्येका एक सुजनलाई बुबाको उपचारका लागि पैसाको जोहो भए मृगौला दिने मान्छे तयार रहेकाले आफू पनि केहि काम गरेर पढाई अघि बढाउने सोचमा छन् । सहयोगी मनले सहयोगी मनले नविल बैंकको खाता नम्बर १७७१५२४०९०२४२९ वा सुजनलाई ९८१८५११८३० मा सम्पर्क गर्न सक्नेछन् ।

