४ खर्ब ४० अर्बको सहयोग घोषणा, ‘सम्मेलन अत्यन्त सफल’

Share:

काठमाडौं, आषाढ १० । नेपालको पुनःनिर्माणका लागि विभिन्न मित्रराष्ट्र तथा दातृ निकायले ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेका छन् । विहीबार काठमाडौंमा सम्पन्न नेपाल पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी मित्र राष्ट्रहर तथा दातृनिकायका प्रतिनिधिहरुले ४ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

त्यसमध्ये २ खर्ब २० अर्ब रुपैयाँ अनुदान र सोही बराबर रकम सहुलिततपूर्ण ऋण रहेको अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए ।

सम्मेलनको समापनपछि सरकारले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अन्तर्राष्ट्रिय सम्मेलन अत्यन्त सफल भएको दाबी गरे ।

अर्थमन्त्री महतले जस्तोसुकै परिस्थितिमा पनि नेपालले ठूला सम्मेलन आयोजना गर्न सक्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनसमेत सफल भएको बताए ।

यस्तै, परराष्ट्रमन्त्री पाण्डेले नेपालले यस्तो विषद् परिस्थितिमा पनि कुटनीतिक सफलता हासिल गरेको बताए । साथै ‘नेपाल एक्लै छैन’ भन्ने सन्देश पनि सम्मेलनले दिएको उनको भनाइ थियो ।

अर्थमन्त्री महतले सरकारले गठन गर्ने प्राधिकरणले आफ्नौ ‘मोडालिटी’ तयार पारी प्रभावकारीरुपमा आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने पनि बताए ।

कमेन्ट गर्नुहोस्
Share: