
विग न्यूज /पोखरा, १० असार । पोखरेली चेली कल्पना पन्तको नेतृत्वको टोलीले ‘सिमा ग्लोबल बिजनेस च्यालेन्ज २०१५’मा प्रथम स्थान हासिल गरेपछि उनी अध्ययनरत व्रिटिश कलेजले उनीसँगै उनको अभिभावलाई समेत सम्मान गरेको छ ।
व्रिटिश कलेजमा पढ्दै आएका छात्राहरु कल्पना पन्त, एन्जल शर्मा, प्रियंका पुरी र सफलता श्रेष्ठको टोलीले उत्कृष्ठता हासिल गरेको हो । टोलीलाई कल्पना पन्तले नेतृत्व गरेकी थिईन् । पोखरा औद्योगिक क्षेत्रकी कल्पनालाई उनी अध्ययनरत व्रिटिश कलेजले पोखरा आएर सम्मान समेत गरेको छ । उनीसँगै कल्पनाको बुवाआमा कृष्ण पन्त र विष्णु पन्तलाई कलेजबाट आएको टोलीले सम्मान गरको थियो । देशव्यापी व्यवस्थापन सम्बन्धि प्रतियोगितामा उनीहरुले १ सय ४८ वटा टोलीलाई पछाडी पार्दै नेपालभरकै उत्कृष्ट टोली बनेका थिए ।
कल्पना पन्तको अभिभावकलाई सम्मान गर्नको लागि काठमाण्डौबाट व्रिटिश कलेजको टोली पोखरा आएको थियो । टोलीमा अपरेशन डाईरेक्टर विमलराज पाठक, क्वालिटि डाईरेक्टर क्राहम मिङसाहा र मार्केटिङ डाईरेक्टर सुमन श्रेष्ठ थिए । उनीहरुले कल्पनाको घरमै पुगेर उनको अभिभावकलाई सम्मान गरेका थिए । छोरीको कारणले गर्दा सम्मानित हुन पाएपछि कल्पनाका बुवाआमा निकै खुशि भएका थिए ।
चार्टड ईन्स्टिच्यूट अफ म्यानेजमेन्ट एकाउन्टेन्सी (सिमा)ले हरेक वर्ष गर्दै आएको ‘सिमा ग्लोबल विजनेस च्यालेन्ज’को पछिल्लो सँस्करणमा पन्तको नेतृत्व रहेको ‘द डोर्स’ समुह प्रथम भएको थियो । उत्कृष्ट बनेसँगै यो समुहले नेपालको प्रतिनीधित्व गर्दै अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नेछ । अन्तराष्ट्रियस्तरको यो प्रतिस्पर्धा अगस्ट महिनामा पोल्याण्डको वार्सा भन्ने ठाऊँमा हुनेछ ।
‘यो हाम्रो लागि निकै खुशिको कुरा हो ।’ कल्पनाले भनिन्–‘देशको प्रतिनीधित्व गर्दै अन्तराष्ट्रिय लेभलमा हामीले प्रतिस्पर्धा गर्दा अझै बढि मेहेनत गर्नेछौँ ।’ यो प्रतियोगितामा बिजनेससँग सम्बन्धित विभिन्न खाले समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने एक खालको रिपोर्ट बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ । र, अन्तिममा निर्णायकले प्रत्येक समुहले बनाएको रिपोर्टको आधारमा उत्कृष्ट छनौट गर्ने गर्छन् ।
