भारती भवन उच्च मावि पुरुञ्चौरमा विज्ञान संकाय थप

Share:

रञ्जन अधिकारी पोखरा, २३ असार / कास्कीको ग्रामीण क्षेत्र पुरुञ्चौर गाविसमा रहेर पनि पोखरा उपत्यका बाहिर जिल्लामै सर्वोत्कष्ट नतिजा ल्याईहेको भारती भवन उच्च माविमा यस शैक्षिक सत्रदेखि विज्ञान संकायको पढाई सुरु हुँदैछ । निकट भविष्यमै कृषि विषयमा स्नातक तहको पढाई सञ्चालन गर्ने गरी तयारी समेत अघि बढिसकेको विद्यालयले जनाएको छ । २०६४ सालदेखि नै शिक्षा र व्यवस्थापन संकायका कक्षाहरु सञ्चालन गरेको विद्यालयले यस वर्षदेखि विज्ञान संकायमा दिवा कक्षाहरु सञ्चालन गर्ने विद्यालयका प्राचार्य दीपक पौडेलले जानकारी दिए ।

ग्रामिण क्षेत्रमा उच्च तथा प्राविधिक शिक्षाको पहुँच पु¥याई आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षाको अवसर जुटाउने अभियान स्वरुप विज्ञान संकायको पढाई सुरु गरिएको उनले बताए । ‘हामी मासिक १२ सय रुपैंयामै गुणस्तरीय शिक्षा प्रदान गर्नेछौं ।’ उनले भने– ‘उत्कृष्ट शिक्षकहरुबाट सफा र सुन्दर शैक्षिक वातावरणमा पठनपाठन गर्नेछौं । विगतको नतिजाले पनि यसको पुष्टि गर्दछ ।’ उनले पहिलो वर्षको नतिजा नै शतप्रतिशत ल्याउने दाबी समेत गरे ।

एसएलसी परीक्षामा पटक पटक सामुदायिक विद्यालयमध्ये सर्वाधिक विद्यार्थीहरु उत्तीर्ण गराउन सफल विद्यालयले जिल्ला र राष्ट्रिय स्तरका पुरस्कारहरु समेत प्राप्त गर्दै आईरहेको र २०७१ सालको एसएलसी परीक्षामा पनि ८८ प्रतिशत उत्तीर्ण गराई जिल्लामै सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल भएको प्राचार्य पौडेलले बताए ।

विज्ञान, कृषि विषयका पढाई सञ्चालन गर्न विद्यालयले महायज्ञ समेत सञ्चालन गरेको थियो । विद्यालयमा विज्ञान विषयको पढाई सञ्चालन पछि पोखराको उत्तर पश्चिमतर्फका गाउँहरु अर्मला, सार्दीखोला, माछापुच्छे, घाचोक, लाहाचोक, रिभान, ल्वाङघलेल, धिताल लगायतका गाउँहरुका विद्यार्थीहरु पनि लाभान्वित बन्ने विद्यालयको विश्वास छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर अधिकारीले विज्ञान संकायको पढाईका लागि आवश्यक पर्ने पूर्वाधार तयार भईरहेको जानकारी दिए । उनले महायज्ञबाट उठ्न बाँकी रकमहरु किस्ताबन्दीमा उठिरहेको र क्रमशः भौतिक तथा शैक्षिक पूर्वाधार स्थापनाको कार्य गरिने बताए ।

कृषि क्याम्पस संचालनका लागि सक्रियतापूर्वक लागिरहेका हेमप्रसाद गौतमले स्नातक तह संचालन गर्ने हो भने प्राविधिक विषय कृषि नै छनौट गर्ने भनेर लागि परेको बताए । ‘युवाहरु विदेशिने, गाउँघरका जग्गा जमिन बाँझै रहने अवस्था आयो ।’ उनले भने– ‘प्राविधिक शिक्षा नै प्रदान गर्नुपर्छ भनेर हामीले कृषि विषय छनौट गरेका हौं ।’

विद्यालयमा गत वर्ष नै नेपाल सेकोस अफ बेल्जियमको सहयोगमा करिब पाँच लाख रुपैयाँ लागतमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: