
रञ्जन अधिकारी पोखरा, २६ असार। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको चौथो अधिवेशनबाट पनि गणेशबहादुुर श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका छन् । उद्योगपति एवं समाजसेवी श्रेष्ठको यो लगातार तेस्रो कार्यकाल हो । तीन वर्षे कार्यकालका लागि पाँच सदस्यहरुमा झपेन्द्र सुवेदी, धर्मराज पराजुली, माधव पराजुली, हेमराज रेग्मी र रमेश प्रसाद अधिकारी सर्वसम्मत चुनिए ।
तीन वर्ष कार्यकाल रहेको १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष लगायत पाँच सदस्यहरु अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था छ । अध्यक्ष श्रेष्ठले पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने बताए ।
यसअघि, अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले गरे । समग्र मन्दिर क्षेत्रको विकासका लागि समितिलाई काम गर्ने उर्जा मिलोस् भन्दै उनले मन्दिरमा आउने देशविदेशका तिर्थालुले अनुकरण गर्ने गतिविधि गर्न पनि आग्रह गरे । धर्म पर्यटनसँग गाँसिएको मन्त्रालयका जिम्मेवार व्यक्ति भएको नाताले आफू धार्मिक स्थल, पर्यटन पूर्वाधारको विकासमा लाग्ने समेत जनाए । ‘चेतनाको स्तर विकास नभएका बेला मानिसलाई पाप र धर्मको नाममा अनुशासनको विधि सिकाउने कुरा रहेछ ।’ उनले भने– ‘त्यसैले धर्म मर्यादित जीवनशैलीका लागि आवश्यक चीज हो । उपबास, ब्रत जस्ता चीज स्वास्थ्यका लागि पनि आवश्यक हो।’ ३८ वर्ष अघि दलित युवतीसँगको सम्बन्धबाट जन्मिएको छोरा दाबी गर्दै एक युवाले छोरा समेत स्वीकार नगरेको आरोप लगाउँदै पत्रकार सम्मेलन नै गरेपछि विवादमा समेत तानिएका मन्त्री शेर्पाले भने– हामीले सत्कर्म ग¥यौं र सत्मार्गमा हिँड्यौ भने त्यही नै धर्म हो । यहाँ ठुलो र सानो भन्ने जाति पनि हुँदैन। मानवीय संवेदना, करुणाभाव, दयाभाव हुनुपर्छ । ’ उनले एमालेबाट संविधानसभाको निर्वाचनमा उठ्नु अगावै सबै मासिक तलब निर्वाचन क्षेत्रकै शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता अनुसार पार्टीको लेबी र कर कटाएर सबै रकम सहयोग प्रदान गर्दै आएकाले विन्ध्यवासिनीलाई आर्थिक सहयोग गर्न नसकेको बताए ।
संसदका विकास समिति सभापति एवं सभासद् रविन्द्र अधिकारीले पोखराका सबै धार्मिक स्थलहरु जोडेर धार्मिक पर्यटनमा अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपाल आफै धार्मिक पर्यटकीय मुलुक पनि हो । अब पोखरालाई पनि धार्मिक पर्यटनका रुपमा विकास गर्नुपर्ने बेला आएको छ ।’ अधिकारीले भने ।
सभासद् शारदा पौडेलले समितिले मन्दिर संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा प्रशंसा गर्दै वेद विद्याश्रम समेत संचालन गरेर बटुकहरु दिक्षा प्राप्त गरेपछि मुलुकका विभिन्न स्थानमा धर्मको चेतना फैलाईरहेको बताईन् । उनले एक लाख ३२ हजार एक सय ३२ रुपैंया समेत समितिलाई प्रदान गर्ने घोषणा गरिन् ।
सभासद् सीता गिरी ओलीले आफ्नै निर्वाचन क्षेत्र समेत रहेकाले भविष्यमा निर्माण हुने सबै पूर्वाधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाईन् । उनले युवा वर्गहरू अध्यात्मिक ज्ञानतर्फ लाग्ने वा भौतिकवादतर्फ लाग्ने अन्यौल भएको अवस्थामा उनीहरूलाई दिशानिर्देश गराउनुपर्नेमा जोड दिईन् ।
प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यले भौतिक विकास र सांस्कृतिक विकास संगै अघि नबढे विकास नै नहुने ठोकुवा गर्दै आफूले सक्ने सहयोग समितिलाई सदैव रहने विश्वास दिलाए । स्वामी रामानन्द गिरीजी महाराजले जुन देशको संस्कृति जति समृद्ध छ त्यो देश उति नै विकास हुने बताउँदै संस्कृति विहीन राष्ट्र मुर्दा सरहको राष्ट्र भएको जिकिर गरे । प्रकृतिदेवीको कृपा पोखरालाई मिलेको भन्दै पोखरेलीले नै यसको जगेर्ना गर्नुपर्ने बताए ।
स्वामी कृष्णदासजी महाराजले हरित क्रान्ति अभियान र धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा ध्यान दिएमात्र मुलुकले फड्को मार्ने विचार व्यक्त गर्दै हिन्दु धर्म संसारकै सर्वोत्तम रहेपनि मान्यता गलत हुँदा नराम्रो सन्देश गएको बताए । ‘दलितलाई मन्दिरमा प्रवेश गर्न नदिनु व्यवहारिक भेद हो । भगवानको नाममा बलि दिने कुरा शास्त्रमा लेखिएको छैन ।’ उनले भने– ‘धर्मको नाममा व्यवहारमा जे पनि भए । मानवताको अपमान गर्नुहुन्न । नेताहरुले चाहिँ अहिले गरिरहेका छन् ।’
सो अवसरमा विन्ध्यवासिनी पिठाधीश चुनिएका स्वामी निशेषानन्दले बुद्धिबहादुर श्रेष्ठकै अनुकम्पाले आफू यहाँसम्म आएको बताउँदै ज्ञानले म्याएसम्म आफू सक्रिय रहने बताए । सो अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले एक लाख एक हजार दिने घोषणा गरे भने संस्थापक सदस्य जगतमान माकाजुले २५ हजार प्रदान गर्ने घोषणा गरे । पुजारी रुद्रप्रसाद पौडेलले आफ्नो नाममा रहेको गुठीको जग्गा समितिलाई नामसारी गरिदिने घोषणा गर्दै नसकेको बेला समितिले नै हेर्न आग्रह गरे ।
यस्तै, लक्ष्मी ग्रुपले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई एउटा एम्बुलेन्स सहयोग गरेको छ । ग्रुपका निर्देशक सुनिल श्रेष्ठले समितिका सचिव तीर्थ श्रेष्ठलाई एम्बुलेन्सको डमी हस्तान्तरण गरे । कार्यक्रममा विन्ध्यवासिनी मन्दिरको विकासमा सहयोग पु¥याउने व्यक्ति, आमा तथा महिला समूह लगायतका संघसंस्थाहरुलाई सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष योगेन्द्र प्रधानले स्वागत मन्तव्य तथा सचिव तीर्थ श्रेष्ठले सञ्चालन गरेका थिए।
