
रञ्जन अधिकारी पोखरा, २६ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले सबैको साझा भावना समेट्ने गरी अग्रगामी संविधान आउने दाबी गरेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको चौथो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री शेर्पाले आम नेपालीले स्वामित्व ग्रहण गर्ने गरी, मुलुकले अग्रगति पाउने गरी संविधान आउने विश्वास दिलाए ।
शेर्पाले एकल जातिय, एकल भाषिक पहिचान, एक मधेश प्रदेश जस्ता मुद्धाहरु अब ओझेल परिसकेको र राष्ट्र जोगिएको बताए । ‘राजनीतिक पार्टीहरु नै भ्रममा परेर हाम्रो राष्ट,« राष्ट्रियता र राष्ट्रिय अखण्डता भुलेर जातिय सद्भाव, धार्मिक सहिष्णुता, मित्रता र एकताका सवाललाई बिर्सन पुगेका थिए ।’ शेर्पाले भने– ‘हाम्रो पशुपतिनाथ, विन्ध्यवासिनी माताको आर्शिवादका कारण त्यो स्थिति हुनबाट जोगिएको छ । इथियोपिया, युगाण्डा, हाईटी जस्ता देश बन्नबाट जोगिएको छ ।’ उनले सदयिौदेखिको मेलमिलाप खलबलिन नदिने गरी संविधान आउन लागेको बताए ।
पर्यटनमन्त्री शेर्पाले भुकम्पपछि आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र पनि सुस्ताएको बताउँदै मिडियाले चर्चा गरेजस्तो पनि नभएको बताए । उनले १५ प्रतिशत मात्र नोक्सानी भएको दाबी गर्दै मिडियाले नराम्रो न्युज प्रस्तुत गरेर पनि पर्यटकहरु भित्रिन नसकेको दोष लगाए ।
उनले पुनर्निमाणका कामहरु भईरहेको बताउँदै अब केहि दिनमै भुकम्प अघिकै अवस्थामा पूर्वाधार तयार गरिने बताए । ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेलको संयोजकत्वको टोलीले चाँडै नै रिपोर्ट तयार पार्दैछ । त्यही अनुसार पुरानै शैलीमा मन्दिर तथा पर्यटकीय स्थलहरुको पुनर्निमाण हुनेछ।’ शेर्पाले भने ।
सरकारले पहिलो वर्ष एक अर्ब ८० करोड दिने जानकारी प्राप्त भएको भन्दै उनले पर्यटन विकासका क्षेत्रमा काम लगनशील भएर काम गर्ने बताए । धर्म पर्यटनसँग गाँसिएको मन्त्रालयका जिम्मेवार व्यक्ति भएको नाताले आफू धार्मिक स्थल, पर्यटन पूर्वाधारको विकासमा लाग्ने समेत जनाए । ‘चेतनाको स्तर विकास नभएका बेला मानिसलाई पाप र धर्मको नाममा अनुशासनको विधि सिकाउने कुरा रहेछ ।’ उनले भने– ‘त्यसैले धर्म मर्यादित जीवनशैलीका लागि आवश्यक चीज हो । उपबास, ब्रत जस्ता चीज स्वास्थ्यका लागि पनि आवश्यक हो।’ ३८ वर्ष अघि दलित युवतीसँगको सम्बन्धबाट जन्मिएको छोरा दाबी गर्दै एक युवाले छोरा समेत स्वीकार नगरेको आरोप लगाउँदै पत्रकार सम्मेलन नै गरेपछि विवादमा समेत तानिएका मन्त्री शेर्पाले भने– हामीले सत्कर्म ग¥यौं र सत्मार्गमा हिँड्यौ भने त्यही नै धर्म हो । यहाँ ठुलो र सानो भन्ने जाति पनि हुँदैन। मानवीय संवेदना, करुणाभाव, दयाभाव हुनुपर्छ । ’
उनले एमालेबाट संविधानसभाको निर्वाचनमा उठ्नु अगावै सबै मासिक तलब निर्वाचन क्षेत्रकै शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता अनुसार पार्टीको लेबी र कर कटाएर सबै रकम सहयोग प्रदान गर्दै आएकाले विन्ध्यवासिनीलाई आर्थिक सहयोग गर्न नसकेको बताए ।
