
पोखरा २७ असार । प्रशासनले असहयोग गरेको आरोप लगाउँदै पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिका महासचिव योगेन्द्र केसीका अनुसार सरकार र प्रशासनका विरुद्धमा सोमबार पोखराबाट कुनैपनि सार्वजनिक सवारी साधन चल्न दिइने छैन ।
समितिले पोखराबाट लामो तथा छोटो दुरीका तथा स्थानीय सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन गर्न नदिने केसीले बताए । आफूहरु कानुन बमोजिम चल्दा पनि प्रशासनबाट सहयोग प्राप्त नहुँदा आन्दोलन निर्विकल्प बनेको उनले दावी गरे ।
शुक्रबार साँझ वालिङको रामबाच्छामा सवारी दुर्घटना पछि त्यस क्षेत्रमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिइएपछि समिति आन्दोलित भएको हो । पृथ्वी राजमार्ग बस सञ्चालक समितिको गाडीमा मोटरसाइकल ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएपछि त्यहाँका स्थानीयले पृथ्वीको बस तोडफोड गर्नुका साथै सञ्चालनमा आउन पनि नदिएको महासचिव केसीले जानकारी दिए ।
‘सरकारको नियम अनुसार मृतकलाई बिमा बापतको रकम दिन मञ्जुर हुँदा पनि हाम्रा सवारी सञ्चालन हुन दिइएन,’ केसीले भने, ‘हाम्रा सवारी तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बन्यो ।’ स्थानीयबासीले पृथ्वीको वालिङ शाखा र काउन्टरमा समेत तोडफोड गरेको केसीले जानकारी दिए । सरकारी नियम मानेर अगाडि बढ्न खोज्न प्रशासनले सहयोग नगरेको केसीले आरोप लगाए ।
पृथ्वीका बसहरु स्याङ्जाको स्याङ्जा बजार, बयरघारी र वालिङमा प्रहरीले नै रोकिदिएको केसीले बताए । ‘सुरक्षा दिन सकिदैन भनेर हाम्रो सवारी साधनलाई प्रहरीबाटै रोक्ने काम भयो,’ केसीले भने । अन्यायमा परेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको समितिका अध्यक्ष ऐनकुमार साईको भनाई छ ।
आन्दोलनबाट सर्वसाधरण यात्रुमा पर्ने समस्याप्रति समितिले क्षमा मागेको छ । आन्दोलनमा सबैको साथ र सहयोग रहने अध्यक्ष साईले विश्वास व्यक्त गरे । एक दिनको सार्वजनिक यातायात बन्दले पनि समस्याको समाधान ननिस्किए थप आन्दोलन गर्ने उनको चेतावनी रहेको छ । सोमबारको सार्वजनिक यातायात बन्दमा यहाँका सबै बस व्यवसायी समितिको समर्थन रहेको साईले जानकारी दिए ।
