
काठमाण्डु ४ साउन– एकीकृत माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग गरेका छन् ।
श्रोतका अनुसार विष्टले केही साताअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । यद्यपि प्रचण्डले राजीनामा स्वीकृत गरेका छैनन् ।
‘मैले राजीनामा दिएको हुँ’, विष्टले काठमाण्डु टुडेसँग भने, ‘स्वीकृत हुन बाँकी छ ।’ विष्टले।राजीनामाको कारणबारे खुलाउन चाहेनन् ।
विष्टले एमाओवादी वृत्तमा इमान्दार र त्यागी नेताको छवि बनाएका थिए । रुकुम स्थायी घर भएका विष्ट दोश्रो संविधानसभा निर्वाचनमा म्याग्दीबाट पराजित भएका थिए ।
जिल्लाबाटै निर्वाचन लड्न पार्टीभित्रैबाट नदिइएको र अर्को जिल्लाबाट उम्मेदवार बनेका कारण पराजित हुनुपरेको भन्दै उनी पार्टी नेतृत्वसँग रुष्ट थिए ।
विष्ट पछिल्लो ६ महिनायता बिनाजानकारी पार्टी केन्द्रीय समिति बैठकमा समेत अनुपस्थित हुँदै आएका थिए ।
अध्यक्ष प्रचण्डनिकट मानिने उनी सबैभन्दा लामो समय जेल जीवन बिताउने माओवादी नेता हुन् । विष्टले ८ वर्षसम्म जेलमा बिताएका थिए ।
स्रोतका अनुसार विष्ट पछिल्लो समय नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग नजिकिएका छन् ।
विप्लवसँग विष्टको बाक्लो भेटघाट हुने गरेको श्रोतले काठमाण्डु टुडेलाई बतायो ।
