पत्रकारमाथि भएको दुव्र्यवहारबारे छानविन गर्ने प्रतिबद्धता

Share:

बिग न्युज पोखरा, ६ साउन / जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार रञ्जन अधिकारीमाथि भएको दुव्र्यवहार सम्बन्धमा छानविन गर्ने भएको छ । गत सोमबार पोखरा सभागृहमा आयोजित संविधानको मस्यौदामाथिका सुझाव संकलन कार्यक्रमको समाचार संकलनमा खटिएका पत्रकार अधिकारीलाई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी नायव निरिक्षक सोवित सुवेदी र दुई प्रहरी जवानहरुले दुव्र्यवहार गरेका थिए । पत्रकार अधिकारी आदर्श समाज दैनिक र बिग एफएमसँग आबद्ध छन् ।

सो सम्बन्धमा बुधबार पत्रकार अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालबीच छलफल भएको थियो । सो क्रममा उनले घटनाबारे दुव्र्यवहार गर्ने प्रहरी, कार्यालयका प्रमुखलाई झिकाएर भोलि नै स्पष्टिकरण लिईने पनि बताए । दुव्र्यवहारको घटना सम्बन्धमा पोखराका सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपनि जानकारी नभएको बताएका प्रमुख पालले कुराकानीका क्रममा भने यसअघि नै डिआईजीबाट सोधखोज भएको र आफूले पनि बैदाम प्रहरी प्रमुख वीरेन्द्र गोदारलाई जानकारी गराएको जनाए ।

सभागृहमै खटिएका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार रजौरेलाई समेत घटनाबारे सोधिएको थियो । उनले अन्य पत्रकारहरु निर्वाध रुपमा पोडिएम नजिकै रहेको तर पत्रकार अधिकारीलाई किन दुव्र्यवहार गरियो भन्ने सम्बन्धमा आफू जानकार नरहेको बताए । पत्रकार अधिकारीले दुव्र्यवहार भएकोबारे बताएपछि आयोजकलाई कुरा गर्न सुझाएको रजौरेले बताए । पत्रकार अधिकारीले सई सुवेदीबाट यसअघि पनि बैदाम कार्यालयमा दुव्र्यवहार भएको र पत्रकारलाई रेकर्ड छाप्न र प्रसारण गर्न धम्की दिएको एसपी पाललाई जानकारी गराए । अधिकारीले प्रहरीको आचरण सुधार र पर्याप्त अनुसन्धान नै नगरी लाईसेन्स होल्डरलाई ड्रिन्क एण्ड ड्राईभ केसमा कारबाही गर्दा नागरिकको गुनासो बढ्नेतर्फ ध्यानाकर्षण गराए ।

घटनाबारे बुझेपछि एसपी पालले सबै प्रहरी राम्रा नभएको र तल्लो दर्जाका प्रहरीहरुमा अझै सुधार आउन बाँकी रहेको स्वीकार्दै प्रहरी नागरीक मैत्री नै हुनुपर्ने बताए । आफूले मातहतका सबै प्रहरीहरुलाई सिद्धान्त अनुसार नै चल्न भनेको र अझै नरोकिएकोमा उनले चिन्ता पनि व्यक्त गरे । चेकजाँचका क्रममा अपशब्द बोलेको, रात्री गस्तीका क्रममा पनि झर्किने धम्काउने गर्ने गरेको आफूलाई गुनासो आउने गरेको भन्दै उनले अब यस्ता घटना भएमा दुव्र्यवहार गर्ने प्रहरीसँग कुरा नगरी माथिल्लो तहका प्रहरी तथा सिधै आफूलाई भन्न पत्रकार अधिकारीलाई आग्रह गरेका थिए । पालले व्यक्तिगत रिसईबीले प्रहरी संगठनको दुरुपयोग गरेको हो भने त्यो मान्य नहुने उल्लेख गरे ।

अध्यक्ष ज्ञवालीले पत्रकारमाथि हुने दुव्र्यवहार नरोकिएको भन्दै अब पनि घटना दोहोरिन नदिन सचेत बन्न एसपी पाललाई सुझाए । ‘प्रहरीले पत्रकारमाथि दुव्र्यवहार गर्दै आईरहेका छन् । हामी मिलेरै संवादमार्फत अघि बढ्न चाहन्छौं । त्यसैले विज्ञप्ती समेत प्रकाशित गरेनौं ।’ ज्ञवालीले भने– ‘छानविनपछि दोषी प्रहरीले माफि नमागे पत्रकार महासंघले कदम अघि बढाउनेछ ।’ उनले भोलि नै सई सुवेदीलाई झिकाएर समस्या समाधान गर्न पनि आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: