
रञ्जन अधिकारी पोखरा, ११ साउन पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखरामा बीएससी तेस्रो वर्षमा संचालित माईक्रोबायोलोजी प्रयोगात्मक परीक्षा तोकिएको मितिमा नभएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । सोमबार विहान १० बजेदेखि परीक्षा हुने भनिएपनि विद्यार्थीहरु पुग्दा शिक्षकहरु उपस्थित थिएनन् । यस कारण परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । भौतिक शास्त्र, रसायन शास्त्र, तथ्यांकशास्त्र, जीव विज्ञानका परीक्षाहरु भने संचालन भएको क्याम्पसले जनाएको छ ।
प्रशासन गैरजिम्मेवार बनेको भन्दै असन्तुष्ट विद्यार्थीहरुको एक समूह मिडियामा जानकारी गराउन आए । ‘हामी परीक्षा दिन उपस्थित नभए एक वर्षका लागि रोकिन्छौं । तर शिक्षकहरु उपस्थित नभए केहि नहुने हो ?’ विद्यार्थी गणेश अधिकारीले भने– ‘प्रशासन जिम्मेवार बन्दै यथाशीघ्र चाँडो परीक्षा लिओस् ।’
विना सूचना परीक्षा रोकिएपछि विद्यार्थीहरुले फोन गरी शिक्षकहरुलाई बोलाएका थिए । विद्यार्थीहरुले परीक्षा रोकिएको कारणबारे शिक्षकहरुलाई प्रश्न गर्दा भुवनेश्वर कँडेल र सुवास अधिकारीले क्याम्पस प्रशासनबाट परीक्षाबारे जानकारी नगराएको अर्का विद्यार्थी सुदिप तिमल्सिनाले बताए । विना सूचना परीक्षा स्थगित गर्दा विद्यार्थीहरुलाई ठूलो मर्का परेको र अर्को मिति समेत तय नभएकोले विद्यार्थीहरु अन्यौलमा परेको सुवास भट्टराईले बताए । विद्यार्थी अरुणचन्द्र भट्टराईको अनुसार विज्ञान जस्तो विषय अध्ययनका लागि आवश्यक प्रयोगात्मक सामाग्रीको समेत क्याम्पसमा अभाव छ ।
विद्यार्थीहरुले क्याम्पसमा शिक्षकहरु समयमा पढाउन नआउने, अन्यत्र उच्च माविहरुमा पढाउने, प्रयोगात्मक सामाग्रीहरु समेत गुणस्तरहीन रहेको बताए । ‘ शिक्षकहरु जिम्मेवार छैनन् । पिएन क्याम्पसमा नाम निकाल्यो, उच्च माविमा पढायो ।’ गणेश अधिकारीले भने– ‘नत्र बीएससी प्रथम वर्षको प्रकाशित नतिजमा करीब ६ प्रतिशत मात्रै पास हुन्छ त ?’ उनीहरुले पिएन क्याम्पस भएपनि आफूहरु कुनै राजनीतिक विद्यार्थी संगठनमा सक्रिय नभएको बताउँदै यसै कारण पनि प्रशासन विज्ञान संकायतर्फ जिम्मेवार नबनेको आरोप लगाए । ‘पहिले पहिले तोडफोड हुन्थ्यो । हामी चाहिँ माग पुरा गर्न गराउन मौखिक रुपमा मात्र जानकारी गराईरह्यौं । त्यसैले भएन ।’ अधिकारीले भने ।
प्रयोगात्मक तथा पुस्तकालायका लागि आवश्यक सामाग्री खरीद गर्न तथा भएका सामाग्री प्रयोग सम्बन्धमा पनि कमिशन खेलकै कारण अनावश्यक विवाद भएकाले पढाईमा प्रत्यक्ष असर पुग्ने गरेको उनिहरुको आरोप छ । विद्यार्थी संगठनहरु पनि भर्नाका समय र चुनावका बेलामा मात्रै सल्बलाउने तर जायज माग सम्बन्धमा बेवास्ता गर्ने गरेको उनीहरुको गुनासो छ । विद्यार्थीका हकहितका लागि गठन गरिएका विद्यार्थी संघसंगठन पनि जायज मागबारेमा बेवास्ता गर्ने गरेको भन्दै उनीहरुले आफुहरु पीडित भएको बताए ।
यसबारे विज्ञान संकायका विभागीय प्रमुख नन्दलाल अधिकारीलाई बुझ्दा उनले परीक्षाका लागि शिक्षकहरुको तयारी नपुगेको कारण सोमबार हुने भनिएको परीक्षा रोकिएको स्पष्ट पारे । उनले यथाशीघ्र अर्को मिति तय गरी परीक्षा लिने काम हुने पनि बताए ।
