
रञ्जन अधिकारी पोखरा, ११ साउन / नेपालको इतिहासमै पहिलो पटक जनताले नै बनाएको भनिएको संविधानमा जनताको सुझाव नसमेटिए जनताले नस्विकार्ने चेतावनी दिईएको छ । जनताले नै बनाएको संविधान भन्ने अनि जनताको भावना चाहिँ नसमेटिने हो भने त्यो संविधान जनताको नहुने उनीहरुको ठम्याई छ । बहुसंख्यक जनताको एक मत हिन्दु धर्मको पक्षमा रहेकाले अब यसलाई समेटिर्नै पर्ने उनीहरुको जोड छ ।
प्राज्ञिक विद्यार्थी परिषद, कास्कीले पोखरामा सोमबार आयोजना गरेको धर्म निरपेक्षता र यसका परिणामहरु तथा राज्यको धर्म हुने कि नहुने विषयक प्रवृद्ध नागरिक गोष्ठीमा वक्ताहरुले संविधानको मस्यौदामा जनताले दिएको सुझाव हिन्दु राष्ट्र नेपाल भएकाले यो समेटिनै पर्नेमा जोड दिएका हुन् ।
वरिष्ठ स्तम्भकार डा. श्रीकृष्ण अनिरुद्ध गौतमले मस्यौदा सार्वजनिक भएको दिन देश नै छक्क परेको भन्दै जनताको सुझावले गर्दा अहिले फेरि उर्जा थपिएको बताए । ‘नेताहरुसँग मैले बारम्बार अनुरोध गरेको थिएँ धर्म निरपेक्षता वाक्य संविधानमा नराखिदिनुहोला । यो नेपालीको माग नै होईन ।’ उनले भने– मस्यौदाको सुझाव संकलनका क्रममा २४० निर्वाचन क्षेत्रका हरेक केन्द्रमा जनताको सुझावमा मिलेको एउटै वाक्य हो धर्म निरपेक्षता शब्द हटाईयोस् ।’
उनले साउन २ गते विराटनगरदेखि अहिलेसम्म भएका सभाहरुमा पनि हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा जनसागर उर्लिएको भन्दै जनमतको कदर नगर्ने दल तथा नेताहरु मेटिएर जाने ठोकुवा गरे । ‘केपी ओली लगायतका ठूला नेताहरु पनि खुलिसक्नुभयो, काँग्रेस एमालेको एउटै धारणा बनिसक्यो ।’ उनले थपे– ‘अब एमाओवादीलाई पार्टीको सिद्धान्तबाट हट्न अलि कठिन भएको मात्रै हो, नत्र नेताहरु पनि धर्म निरपेक्षता हटाईएन भने राजनीति नै समाप्त हुन्छ भन्नेमा पुगिसके ।’
नेपालको स्वधर्म संस्कृति नष्ट भईसकेपछि नेपाल भन्ने नाम पनि नरहने उनले उल्लेख गरे । ‘कुनै देशको आत्मा भनेको त्यस देशको धर्म हो संस्कृति हो ।’ उनले भने– अब यो नै नरहेपछि आत्मा झिकिएको हुनेछ । मृत मान्छेको त नामले समेत नबोलाई लाश भनिन्छ भने नेपाल नाम रहला ?’ गौतमले राष्ट्रमा आफ्नो धर्म संस्कृति हुने र निरपेक्ष हुनै नसक्ने बताए । अन्य मुलुकहरुको पनि आफ्नै धर्म, संस्कृति रहेको तर हरेक देशमा स्वतन्त्र रुपमा आफ्नो धर्म संस्कार मान्न पाउनुपर्ने सुनिश्चितता हुनुपर्ने बताए ।
प्रा. डा. दिलबहादुर क्षेत्रीले ऋग्वेदमा छुत अछुत भन्ने नै नभएकाले हिन्दु धर्मले दलित भनिएकाहरुलाई अछुत नबनाएको बताए । ‘दलित बाहुन हरु पनि हुन्छ । जन्मदैं कोहि दलित हुँदैन उसको व्यवहारले दलित बनाउने हो । त्यसैले दलित शब्द अब हटाईदिनुस् ।’ उनले भने– खस आर्य र दलित भनिएकाहरु एकै हुन् । अब विभेदको नाममा हिन्दु माथि प्रहार नहोस् ।’ उनले हिन्दु सम्प्रदाय भएको र धर्म बैदिक सनातन रहेको स्पष्ट पारे । ‘अहिले प्रचण्डले दिल्लीमा बोल्नु र केप ीओली, शुशिल कोईराला यसरी खुल्नु राम्रो पक्ष हो । यसलाई सद्बुद्धि आएको मानेका छौं । सबै नेताहरुको अब सद्बुद्धि आओस् ।’ नेताहरुका नाममा ताली बजाउन आग्रह गर्दै उनले भने– ‘राज्यको पहिचान र धर्म र भाषा हो । विश्वका सबै मुलुक धर्म सापेक्ष छन् तर हिन्दु सापेक्ष नेपालमात्रै हो । अनि उतैबाट हटाउन निर्देशन आयो ।’
क्षेत्रीले राष्ट्रबादी को ? र राष्ट्रघाती को ? यो जनताले चिन्ने राम्रो अवसर भएकाले जनताले सुझबुझले विचार गर्न पनि आग्रह गरे । धर्म संस्कृतिमाथि प्रहार भईरहँदा अब मौन बस्न नहुने भन्दै उनले थपे ‘म बुद्धिष्ट साथीहरुलाई आग्रह गर्छु। यत्रो संख्याका हिन्दुलाई त यसरी धर्मराउन सकियो, तपाईहरुलाई त कान्छी औंलाले सकिन्छ भनेका छन् । अहिले हिन्दु धर्ममाथि प्रहार हुँदा तपाईंहरु पनि चुप नबस्नुहोस् ।’
परिषद्, नेपालका राष्ट्रिय संगठन सचिव डा. दीपक कुमार अधिकारीले अब पनि नेताहरु जनमतको कदर गर्न छाडेर कसैको प्रलोभन वा दबाबमा नझुक्न आग्रह गरे । हिन्दु सापेक्ष राष्ट्र नै हुनुपर्ने र यसले विगतमा जस्तो कुनै धर्मलाई नराम्रो नहुने पनि बताए ।
कार्यक्रम संयोजक डा. काशीनाथ कडेलको अध्यक्षतामा भएको कार्यक्रममा ब्राह्मण समाज नेपालका सल्लाहकार माधव पहारी, विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश बराईली, युवाका तर्फबाट माफ पाम परिवारका दीपक थापामगर लगायले बोलेका थिए । कार्यक्रममा परिषद्का कास्की जिल्ला सदस्य मिलन अधिकारीले स्वागत तथा गण्डकी धौलागिरी संगठन सचिव अभि पाठकले सञ्चालन गरेका थिए । वरिष्ठ कानुनविद् डा. भिमार्जुन आचार्य प्रमुख वक्ताका रुपमा आमन्त्रण गरिएपनि उनको उपस्थिति रहेन ।
