
रञ्जन अधिकारी पोखरा, १७ साउन / ‘सामुदायिक विद्यालयमध्ये नमुना विद्यालयका रुपमा रहेको यो अमरसिंह उच्चमावि अब यस्तै तरिकाले हो भने नराम्ररी सकिन्छ’ – कक्षा १० का दृष्टिविहीन विद्यार्थी सौगात वाग्ले भन्छन् – ‘प्रधानाध्यापक नियुक्तिका विषयमा यस्तो राजनीति हुन्छ भन्ने सोचेको पनि थिईँन ।’ वाग्लेको भनाईजस्तै पोखराको अमरसिंह नमुना उच्च माध्यमिक विद्यालय यस क्षेत्रमै सामुदायिक विद्यालयमा एक नमुना विद्यालय हो । विद्यालयमा गत महिनादेखि तनाव बढ्दा सहज ढंगले अध्ययन अध्यापन कार्य हुन सकेको छैन । विद्यालयमा प्रधानाध्यापको नियुक्तिको विषयले शैक्षिक वातावरण खलबलिएको छ । विद्यार्थीहरु भयमुक्त वातावरणमा पढ्न पाईरहेका छैनन् । बाह्य व्यक्ति आएर कार्यकक्ष तथा कक्षाकोठाबाटै प्रधानाध्यापक, शिक्षकहरु बाहिर निकालेर कुटपिट हुन थालेपछि विद्यार्थीहरु त्रसित छन् । कारण, प्रअ नियुक्तिमा भएको राजनीतिक खेल ।
एमाले र एमाओवादी आफू निकटकालाई प्रधानाध्यापकका रुपमा देख्न चाहन्छ । दुई वर्ष वितिसक्दा समेत विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा प्रधानाध्यापक नियुक्तिको विषय मिल्ने भन्दा पनि विवाद चर्केर जाने अवस्थामा पुगेको छ । कामचलाउ समितिको निर्णय समेत सर्वमान्य नहुँदा समस्या समाधान हुन सकेको छैन । हाल निमित्त प्रधानाध्यापक रहेका केशव आचार्य एमाले निकट हुन् । यसअघि सहायक प्रधानाध्यापकका रुपमा काम गर्दै आएका तेजस्वी बराल एमाओवादी निकट हुन् ।
विद्यालयका प्रधानाध्यापक नवराज पौडेल पनि एमाले समर्थक नै भएकाले आचार्यलाई निमित्तको जिम्मेवारी दिईएको एमाओवादी पक्षधर बताउँछ । तर, यसअघि बिदामा रहँदा पौडेलले बराललाई नै निमित्त प्रअको जिम्मेवारी दिँदै आएको र समितिबाट समेत अनुमोदन भएकाले बराल नै निमित्त प्रधानाध्यापक भएको उनीहरुको ठहर छ । आचार्य प्रधानाध्यापक पौडेलले कार्यभार सुम्पेसँगै जिम्मेवारी सम्हाल्दै आएको बताउँछन् भने बराल सहायक प्रअ स्वतः प्रधानाध्यापकको जिम्मेवारीमा लायक रहेकाले आफु नै प्रधानाध्यापक भएको दाबी गर्छन् ।
प्रअ पौडेल स्वास्थ्यको कारण देखाउँदै दुई महिना बिदामा रहँदा बराललाई निमित्तको जिम्मेवारी दिएपनि पछि विद्यालय फर्केर केशव आचार्यलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद सुरु भएको हो । शिक्षकहरु पनि दुई पक्षमा बाँडिएका छन् भने केहि शिक्षक यथाशीघ्र विवाद मिलाएर पठनपाठन सुचालु गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । विद्यालयमा विवादले गर्दा विद्यार्थीहरु समेत असुरक्षित महसुस गरेका छन् । गन असार २८ गते एमाओवादी पक्षका बाहिरी युवाहरु विद्यालयमै प्रवेश गरेर निमित्त प्रअ आचार्यमाथि कुटपिट गरेको एमाले पक्षधरको आरोप छ । आक्रमणमा एमाओवादी जिल्ला सदस्य मिन गुरुङ, वाइसिएलका नेता राम थापा र विद्यालयकै शिक्षकहरु तेजस्वी बराल, केशव घिमिरे, मंगल रोकाहा लगाएतको संलग्नता रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला अध्यक्ष शेखर गौतमले मंगलबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
गत साता सोमबार एमाओवादी समर्थक शिक्षक केशव घिमिरे माथि हातपात भएपछि मंगलबार विद्यालय क्षेत्र फेरि तनावग्रस्त बन्यो । आचार्यसँगै एमाले निकट शिक्षक तथा विद्यार्थी संगठनहरुले आफूहरुले लगाएको ताला फोड्ने क्रममा शिक्षक माथि हमला गरेको एमाओवादी पक्षको आरोप छ । दुई पक्षले पालैसित विद्यालयमा तालाबन्दी गर्ने र खोल्ने कार्यले पढाई नै प्रभावित बन्यो । अखिल क्रान्तिकारी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका कास्की जिल्ला समिति समेत विद्यालय तालाबन्दीमा उत्रियो । विद्यार्थीहरुले विरोध गर्दै ताला खोल्न थाले ।
शैक्षिक थलोमा राजनीति घुस्दा विद्यार्थीहरु आजित बन्दै गत साउन १२ र १३ गते विवाद मिलाउनका लागि भन्दै विद्यालय नै बन्द गरे तर समस्या समाधान भएन । आईतबार कक्षा १० का विद्यार्थीहरु सौगात वाग्ले, कृष्ण थापामगर, दीपेन्द्र बस्नेत, प्रविन बराल तथा बालमैत्री समूहका शिव थापाले पत्रकार सम्मेलन नै गरेर शैक्षिक थलोमा राजनीतिकरण हुँदा आफूहरुको भविष्य नै अन्धकार हुने भय रहेको गुनासो गरे । निमित्त प्रअको दाबी गरेका दुवै जना केशव आचार्य र तेजस्वी बराल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका एकाई अध्यक्ष मंगल रोकाहा तथा शिक्षकहरुलाई उपस्थित गराई विद्यार्थीहरुले मिलेर जान आग्रह गरे । उनीहरुले यदि यो विवाद लम्बिएमा प्रअ दाबी गर्ने दुवैलाई विद्यालयमा प्रवेश निषेध गर्ने चेतावनी दिए । भोलिदेखि नै विद्यालय सञ्चालन हुनुपर्ने र सबै शिक्षकहरु अनिवार्य उपस्थितिका लागि पनि विद्यार्थीहरुले आग्रह गरे ।
निवर्तमान प्रधानाध्यापक पौडेलले सहायक प्रधानाध्यापक तेजस्वी बराललाई प्रधानाध्यापकमा नियुक्ती नगरेर अर्काे शिक्षकलाई नियुक्ती गर्नु नै अवैध भएको एमाओवादी पक्षधरको भनाई छ । ‘म विगत ६ वर्षदेखि सहायक प्रअ हुँ । प्रअ पौडेलले अन्तिम पटक दुई महिना बिदामा बस्दा मलाई नै जिम्मेवारी दिएका थिए’ – बरालले भनेः ‘बिरामी भनेको प्रअ पौडेल फेरी बिचैमा हाजिर हुनुभयो । र जालझेलपूर्ण रुपमा अर्कैलाई निमित्त प्रअ बनाउनुभयो ।’
एकीकृत अखिल नेपाल शिक्षक संगठनका एकाई अध्यक्ष रहेका शिक्षक मंगल रोकाहाले दबाब आउनुअघि प्रअ पौडेलले पहिले नै बराललाई निमित्तको जिम्मेवारी दिएको र व्यवस्थापन समितले पनि अनुमोदन गरेको दाबी गर्दै सत्ताको बलमा प्रहरी तैनाथ गरी आचार्य जबर्जस्ती कुर्सीमा बसेको आरोप लगाए । यसअघि, आचार्यलाई कुटपिट गरेको आरोपमा रोकाहा पाँच दिनसम्म प्रहरी नियन्त्रणमा रहेर १२ हजार धरौटीमा रिहा भएका थिए । उनले आफ्नै शिक्षकलाई थुनाउने व्यक्ति शिक्षकहरुको नेतृत्व गर्न असमर्थ रहेको जिकिर गर्दै अब विवादमा परेका आचार्य र बराल दुवै प्रधानाध्यापक बन्न नैतिकताले नदिने बताए ।
निवर्तमान प्रअ पौडेलले शिक्षकहरुको बैठक नै नराखी आफखुशी निर्णय गरेकाले पनि अहिले समस्या निम्तिएको विज्ञान शिक्षक केशव घिमिरे बताउँछन् । शिक्षकहरु गोमा क्षेत्री, भिष्म सुवेदी तथा गिरीधारी सुवेदीले भने चाँडो भन्दा चाँडो समाधान गरेर पढाईको वातावरण बनाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए ।
विद्यालयका निमित्त प्रधानाध्यापक केशव आचार्यले आफुसँग प्रधानाध्यापक बन्ने योग्यता रहेको स्पष्ट पार्दै पार्टीको कुरा नल्याउन आग्रह गरे । उनले ज्येष्ठतमको आधारमा शिक्षा नियमावली अनुसार नै आफूलाई जिम्मेवारी दिईएको बताए । आचार्य बरालभन्दा एक श्रेणी माथि छन् । विद्यालय व्यवस्थापन समेत चयन हुन नसकेको सो विद्यालयमा अख्तियारले हाल विद्यालयको सबै कागजातको प्रतिलिपि नियन्त्रणमा लिएको आचार्यले जनाए ।
