चमेलिया जलविद्युत् अयोजनाको काम नौं महिनादेखि ठप्प

Share:

डडेल्धुरा, श्रावण १८ । ९ महिनादेखि ठप्प दार्चुलाको चमेलिया जलविद्युत् अयोजनाको सुरुङ निर्माणको काम अझै सुरु हुन सकेको छैन । काम गरेको रकम नपाएको भन्दै कर्मचारीले अयोजनाको सुरुङ निर्माण कार्य ठप्प पारेका हुन् । दार्चुलाको चमेलिया नदी बलाँचमा सन् २००७ मा सुरु भएको निर्माणाधीन चमेलिया जलविद्युत् अयोजनाको सुरुङ निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनीले खुम्चिएको सुरुङ पुनःनिर्माण कार्यको थप भुक्तानी नपाएपछि कामदारले नौ महिनादेखि काम ठप्प पारेका हुन् ।

३० मेगावाट उर्जा उत्पादन गर्ने भनिएको चमेलियाको ड्याम साइडको काम सम्पन्न भए पनि ८ सय ४३ मिटर खुम्चिएको सुरुङमा ६ सय ११ मिटर बनिसकेको छ भने बाँकी २ सय ३२ मिटर बनाउँदा संसदको सार्वजनिक लेखा समितिले ‘भेरिएसन’मा अनियमितता भएको भन्दै अख्तियारलाई छानबिनको जिम्मा दिँदा अहिलेसम्म त्यसको टुंगो नलाग्दा काम ठप्प भएको आयोजनाका उपप्रबन्धक अजय दाहालले जानकारी दिए ।

प्रारम्भमा साढे सात अर्बको प्रस्तावित आयोजनाअनुसार सामान्यतयाप्रति मेगावाट १८ करोडको लागतमा उत्पादन हुनुपर्ने विद्युत् उर्जाप्रति मेगावाट ५५ करोड अर्थात् १२ अर्ब खर्च भइसकेको छ भने अझै काम बाँकी रहेकाले तीन–चार अर्ब थप रकम र अझै डेढ–दुई वर्ष बढी समय लाग्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: