क्षेत्रीय खेलकुद तथा कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई स्वागत, फुटबल प्रशिक्षक केसीको बिदाइ

Share:

पोखरा, १८ साउन / पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई सोमबार पोखरामा एक कार्यक्रमबीच स्वागत तथा अघिल्लो क्षेत्रीय खेलकुदको कार्यसमितिलाई बिदाइ गरियो।

क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिले संयुक्तरूपमा आयोजना गरेको स्वागत तथा बिदाइ कार्यक्रममा पहिलो पटक नयाँ र पुराना पदाधिकारीको सहभागिता थियो। कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेत, क्षेत्रीय प्रशिक्षण विभाग इन्चार्ज विद्या मर्सानी, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र जिल्ला प्रशिक्षण विभाग इन्चार्ज कृष्ण तिमिल्सिनाले क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक कोइराला, कोषाध्यक्ष रतन गुरुङ, सदस्यद्वय सुमन देवकोटा र जीवन खातीलाई बिदाइ गरेका थिए भने क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा मनोनीत खगराज पौडेल, सदस्य देवेन्द्र बास्तोला, जिल्ला खेलकुदको अध्यक्षमा मनोनीत यामबहादुर गुरुङ, सदस्य अजय पराजुलीलाई स्वागत गरेका थिए।

खेलकुद पत्रकार मञ्च कास्कीले पनि सोही अवसरमा नयाँ टीमलाई स्वागत तथा पुरानो टीमलाई माला लगाएर बिदाइ गरेको थियो। मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपाने र उपाध्यक्ष सन्देश गुरुङले उनीहरूलाई माला लगाएर स्वागत तथा बिदाइ गरेका थिए। यस्तै, अन्य खेल सङ्घका पदाधिकारी, क्षेत्र र जिल्लाका कर्मचारी तथा खेलाडीहरूले पनि खादा तथा माला लगाएर नयाँको स्वागत र पुरानाको बिदाइ गरेका थिए।

नवनियुक्त क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रङशालाको ट्रयाकमा फाइबर बिछ्याउने प्रतिबद्धता व्यक्त गरे। उनले चार वर्षे कार्यकालमा पोखरालाई हाइअल्टिच्युट र साहसिक खेलको केन्द्र बनाउनुको साथै विभिन्न जिल्लालाई सम्बन्धित खेलको केन्द्र बनाउने बताए। यस्तै, खेलकुदको विकास गर्न ग्रासरुटदेखि नै लागि पर्ने र त्यसको लागि सबैको सहयोगको अपेक्षा गरे।

पुरानो कार्यसमितिको तर्फबाट क्षेत्रीय अध्यक्ष दीपक कोइरालाले पोखरामा आफूहरू करोडौंको बजेट ल्याएर भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको र यसको पछाडि सम्पूर्ण पोखरेली खेलप्रेमी, कर्मचारी र पत्रकारको हात रहेको बताए। उनले चार वर्षे कार्यकालमा सबैको साथ पाएको हुनाले काम गर्न सफल भएको र नवनियुक्त टीमलाई आफूहरूको तर्फबाट सहयोग हुने बताए। कोइरालाले सधैँ बेवास्तामा पर्ने खेलकुद मन्त्रालय पछिल्लो समयमा रोजाइको विषय बन्दै गएको दाबी गरे।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले काम गर्न सम्पूर्ण टीमको साथ चाहिने भएकोले समितिले पूर्णता पाएपछि चार वर्षे योजना सार्वजनिक गर्ने बताए। उनले अघिल्लो टीमले गरेका राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले राम्रो काम गरे राम्रो सम्मान पाइने उदाहरण यस पटक देखिएको भन्दै नयाँ टीमलाई चुनौति रहेकाले सबैलाई समेटेर काम गर्न सुझाव दिए।

जिल्ला खेलकुद प्रशिक्षण विभाग इन्चार्ज कृष्ण तिमिल्सिनाले पुरानो टीमलाई बिदाइ र नयाँ टीमलाई स्वागत एउटै मञ्चमा गर्न पाउँदा आफूहरूलाई खुसी लागेको र यस्तो संस्कारले निरन्तरता पाउनु पर्ने बताए।

कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले नयाँ टीमसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै कर्मचारी र खेलाडीको मनोबल बढाउने कार्यक्रम ल्याउने अपेक्षा गरे।

कार्यक्रममा क्षेत्रीय अध्यक्ष पौडेलले पदाधिकारी तथा जिल्ला अध्यक्ष गुरुङले आफ्ना पदाधिकारीलाई सपथ गराएका थिए। क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नासु डीबी नेपाली गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद्ले हालैमात्र यामबहादुर गुरुङको नेतृत्वमा जिल्ला तथा खगराज पौडेलको नेतृत्वमा क्षेत्रीय खेलकुद विकास समिति गठन गरेको हो।

सोही अवसरमा फुटबलका प्रशिक्षक एवं क्षेत्रीय खेलकुद प्रशिक्षक विभागका सहायक इन्चार्ज शम्भु केसीलाई पनि बिदाइ गरियो। फुटबल प्रशिक्षक केसीले ५८ वर्षे उमेर हदका कारण साउन १२ गते अनिवार्य अवकाश पाएका थिए। उनलाई पनि खादा, मालासहित सम्मान पत्र र मायाको चिनो प्रदान गरेर बिदाइ गरिएको थियो। बिदाइ भएका शम्भु केसीले खेलकुद कर्मचारीको रूपमा रहँदा आफूले सबैको माया र साथ पाएको बताए। उनले अवकाश पाएको आफूलाई विश्वासै नलागेको भन्दै कर्मचारी नरहे पनि खेलकुद आफ्नो अभिन्न अंग बनेको दाबी गरे।

कमेन्ट गर्नुहोस्
Share: