
पोखरा, साउन २९ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ का पूर्व सभापति तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य रामजी बादलको हत्या भएको छ ।
कास्कीको लेखनाथ नगरपालिका वडा नम्बर १२ स्थित माथिल्लो गगनगौंडा निवासी अन्दाजी ५० बर्षिय बादलको गएराती हत्या भएको हो । उनको शव आज बिहान मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोही ठाउँका मनोज गुरुङ्ग घाईते अवस्थामा भेटिएका छन् । हिजोसाँझ सामान्य बिषयमा स्थानीय केही व्यक्तिसँग बादलको विवाद भएको र विवादपछि उनी सम्पर्कमा नआएको बुझिएको छ । बादल काँग्रेसका वरिष्ठ नेता देउवा पक्षधर हुन् ।
बादलको हत्या भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य पत्ता लगाई दोषीमाथी कार्वाहीको माग राखेर अहिले लेखनाथमा सडक अवरुद्ध पारेका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय राजु रानाभाटलाई पक्राउ गरेको छ । घटनामा संलग्न भनिएका अरु ३ जना फरार रहेका छन् ।
केहीबेर अघि मात्रै प्रहरीको टोली घटनास्थल पुगेकाले यससम्बन्धि थप विवरण आउन बाँकी छ ।
