
– नवराज ढुङ्गाना
– साउन २९ गते,
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ का पूर्व सभापति तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य रामजी पौडेल बादलको हत्या भएको छ ।
कास्कीको लेखनाथ नगरपालिका वडा नम्बर १२ स्थित माथिल्लो गगनगौंडा निवासी ५५ बर्षिय बादलको गएराती हत्या भएको हो ।
उनको शव आज बिहान मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोही ठाउँका मनोज गुरुङ्ग घाईते अवस्थामा भेटिएका छन् । उनको पोखरामा उपचार भैरहेको छ ।
हिजोसाँझ सामान्य बिषयमा पार्टीकै केही व्यक्तिसँग बादलको विवाद भएको र विवादपछि उनी सम्पर्कमा नआएको बुझिएको छ । बादल काँग्रेसका वरिष्ठ नेता देउवा पक्षधर हुन् ।
बादलको हत्या भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य पत्ता लगाई दोषीमाथी कार्वाहीको माग राखेर अहिले लेखनाथमा सडक अवरुद्ध पारेका छन् ।
आक्रोशित भीडले बा १२ च ३२८० नम्वरको निजी मारुती सुजुकी गाडी जलाई दिएका छन् । सडक अवरुद्ध हुँदा पोखराबाट काठमाडौं, चितवन लगायतका ठाउँमा जाने र उताबाट पोखरा भित्रिने सयौं सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय राजु रानाभाटलाई पक्राउ गरेको छ । घटनामा संलग्न भनिएका अरु ३ जना फरार रहेका छन् ।
बादल काँग्रेस राजनीतिमा धेरै संघर्ष गरेपनि महत्वपूर्ण उपलब्धि हात पार्न नसकेका पीडित नेतामध्ये एक हुन् । पारिवारिक पृष्ठभूमी नै नेपाली काँग्रेस भएकाले पनि बादल विद्यार्थी कालदेखी नै नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्ष र केन्द्रको सदस्य हुँदै काँग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए ।
नेपाली काँग्रेसका हरेक आन्दोलनमा अग्रणी भूमिकामा रहेर अघि सर्ने बादल पञ्चायतकालमा थुप्रै पटक जेल पनि परेका थिए ।
