बिग एफएमको प्रस्तुतिमा पोखरामा भदौ १ देखि ३ गतेसम्म तेस्रो वृहत शैक्षिक मेला, ‘मह’ जोडीले उद्घाटन गर्ने

Share:

रेम बिक पोखरा, २९ साउन । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा पोखरामा तेस्रो पटक वृहत शैक्षिक मेला आयोजना हुने भएको छ । ईक्यान कास्कीले मेला भदौ १ गतेदेखि ३ गतेसम्म चल्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा हुने मेलालाई वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

वैदेशिक अध्ययनका लागि जान चाहने पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले मेलाको आयोजना गरेको मेला संयोजक मिलन तिवारीले बताए । ‘यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने लहर चलेको छ ।’ तिवारीले भने–‘वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरु र उनीहरुको अभिभावकलाई उचित परामर्श आवश्यक रहेकोले हामीले त्यसको पुर्ती गर्नका लागि मेलाको आयोजना गरेका हौँ ।’ मेला अवधीभर पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु र अभिभावकहरुको सहभागिता उल्लेख्य रहने ईक्यान कास्कीले जनाएको छ ।

धेरै शैक्षिक परामर्श केन्द्रहरु एकै स्थानमा रहेर परामर्श दिने भएकोले विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक शिक्षाको बारेमा जानकारी लिन निकै सजिलो हुने आयोजकले बताएको छ । अघिल्ला दुई सँस्करणको शैक्षिक मेलाको तुलनामा अझै व्यवस्थित तवरले विद्यार्थी र अभिभावकलाई परामर्श दिने गरि मेलामा व्यवस्थापन मिलाईएको ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलीया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्व विद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने भण्डारीले बताए ।

शैक्षिक मेलामा ५७ वटा स्टल तथा ६ वटा पाभिलियन रहनेछन् । तीन दिने मेला सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान लगाएको छ । ईभेन्ट म्यानेजमेन्ट कम्पनी ‘वान अप’ले तीन दिने मेलाको व्यवस्थापनको जिम्मा लिएको छ । यस अगाडिका दुई वटा सँस्करणका मेलालाई पनि वान अपले नै व्यवस्थापन गर्दै आएको थियो ।

तेस्रो सँस्करणको वृहत शैक्षिक मेलाको टाईटल स्पोन्सर एक्सेस एजुकेशन नेटवर्क प्रालिले गरेको छ । बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा भएको शैक्षिक मेलाको मुख्य प्रायोजकको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको छ । सपोर्टेड बाई टाईटलमा थर्ड आई एजुकेशन रहेको छ । त्यस्तै अन्य प्रायोजकहरुमा डेल्टा एडुकेयर नेपाल, मिराकल ईन्स्टिच्यूट, ट्रिनिटी एजुकेशन फाउन्डेशन, एजुकेशन स्टडी लिंक, कँगारु एजुकेशन फाउन्डेशन, अर्बिट ईन्टरनेशनल र क्विन्सफोर्ड कलेज रहेका छन् ।

पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेको ईक्यान कास्कीले जनाएको छ । कास्कीमा ईक्यानसँग आबद्ध करिब ५० वटा परामर्श केन्द्रहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: