
पोखरा २९ साउन / नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरिनु पर्ने माग गर्दै आन्दोलित हिन्दू राष्ट्र संरक्षण अभियानले दोस्रो चरणको आन्दोलन अन्तरगत शुक्रबार पहिलो दिन पोखरामा शक्ति ज्वाला प्रदर्शन गरेको छ ।
बन्द सहित दोस्रो चरणको आन्दोलन घोषणा गरेको अभियानले शुक्रबार पहिलो दिन पोखराको सभागृहचोक देखि चिप्लेढुंगा सम्म शक्ति ज्वाला प्रदर्शन गरेको हो । हजारौको संख्यामा सहभागी हिन्दुधर्म अनुयाहीहरुले हिमाल पहाड तराई कोही छैन पराही,नेपाल आमा के भन्छिन हिन्दुराष्ट्रले भन्छिन , गाई हत्या गर्नेलाई कारवाही गर,धर्म परिवर्तन बन्द गर, नेपाललाई धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
शक्ति ज्वाला प्रदर्शन कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष डा. लेखनाथ आचार्यले अब ज्यानको आहुति दिन पनि पछि नपर्ने गरी सम्पूर्ण वैदिक सनातनवादी सशक्त आन्दोलनमा होमिएको बताए । ज्यानको आहुति दिएर भए पनि नेपाललाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाएरै छाड्ने उनको भनाई थियो ।
घोषित आन्दोलन तीन दिने आन्दोलन अन्तर्गत पहिलो दिन शुक्रबार शक्ति ज्वाला प्रदर्शन, गरिएको हो भने साउन ३० गते शनिबार पृथ्वीचोक देखि चिप्लेढुंगासम्म त्रिशूल जुलुस गरी विशाल सभा गर्ने अभियानले जनाएको छ ।
यस्तै साउन ३१ गते आईतबार गण्डकी–धौलागिरि अञ्चलका सम्पूर्ण जिल्ला बन्द आह्वान गरिएको अभियानका सचिब धनपती शर्माले जानकारी दिए । शनिबार शनिबारको बिशाल सभामा सहभागी हुन पनि उनले सबैलाई आग्रह गरे ।
यस्तै साउन ३१ गते आईतबारको गण्डकी–धौलागिरि बन्दलाई सफल बनाउन सहयोग गरीदिन पनि उनको आग्रह थियो ।
