काँग्रेस नेता पौडेलको पार्टी कार्यकर्ताबाटै हत्यापछि लेखनाथ दिनभर तनाबग्रस्त, १० घण्टापछि सडक अवरोध हट्यो

Share:

रञ्जन अधिकारी पोखरा, २९ साउन / कास्की लेखनाथका सक्रिय तथा ईमान्दार नेताको छवि बनाएका नेपाली काँग्रेसका रामजी पौडेल (बादल) को हत्या भएको छ । लेखनाथ १ पावर हाउस निवासी ५२ बर्षिय पौडेलको पार्टी कार्यकर्ताले नै विहीबार राति हत्या गरेका हुन् । पार्टी भित्र संस्थापन पक्ष र देउवा पक्ष बीचको गुटबन्दी र स्थानीय विवादका कारण हत्या भएको बताईन्छ ।

पौडेलको शव लेखनाथ नगरपालिका वडा नं. १२ गगनगौंडामा पृथ्वीराजमार्ग नजिक भिरबाट फालेको अवस्थामा भेटिएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले राजु रानाभाटलाई पक्राउ गरेको छ । घटनामा संलग्न रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतमको खोजी भैरहेको कास्की प्रहरीले जनाएको छ ।

महाधिवेशन नजिकिदै जाँदा नगर क्षेत्रमा क्रियाशिल सदस्यता दिने बारे संस्थापन र देउवापक्षवीच विवाद चर्को हुँदै गएको थियो । एकसाता अघि लेखनाथको तालचोकमा देउवापक्षका कार्यकर्ता लेखनाथ नगरपालिकाका वडा नं. ९ का नारायणहरि तिवारीलाई संस्थापन पक्षका विश्वास गौतमले हातपात गरेका थिए । तिवारीलाई हातपात गरेको अवस्थामा पौडेल लगायतले छुट्टाएका थिए । त्यसैबाट सुरु भएको विवाद मिलाउनका लागि महाधिबेशन प्रतिनिधि बुद्विमान गुरुङको गगनगौडा स्थित घरमा वार्ता सकेर बिहीवार राती अन्य साथीहरुसँग घर फर्कर्दै गरेका पौडेललाई बाटोमा नै कुटेर हत्या गरेका हुन् । खुकुरी प्रयोग गरेर हत्या गरिएको उनको ढाँडमा खुकुरी प्रहार र हात, घाँटी र शरीरका विभिन्न भागमा चोट छ भने अनुहारमा समेत रगत लतपतिएको अवस्थामा शव फेला परेको हो । बिवाद झनै चर्किएपछि मिलाउन तीन दिनदेखि दुवैपक्षवीच बार्ता भईरहेको थियो । पौडेल र मनोज गुरुङ एउटा मोटरसाइकलमा र नारायणहरी अर्को मोटरसाइकलमा फर्किएका थिए ।

तिवारीलाई देउवा पक्षले नगर सभापतिमा उम्मेदवार बनाउने तयारी गरेको थियो । हत्यामा संलग्न भई फरार गौतमले दुई दिन अघि तिवारीलाई लेखनाथको तालचोकमा आक्रमण गरेको विषय मिलाउन विहिबार साँझ गुरुङको घरमा छलफल हुँदा विवाद भएको थियो । गौतमले साँझ नै पौडेललाई ज्यान मार्ने धम्की दिदै त्यहाँबाट बाहिरिएका थिए ।

हत्यापछि कास्की काँग्रेसमा तनाव उत्पन्न भएको छ । हत्यामा संलग्न चारै जना नेपाल तरुण दलसँग आबद्ध युवा हुन् । पक्राउ परेका रानाभाटले पौडेलको हत्या गरेको स्वीकार गरेको कास्की प्रहरीका उपरीक्षक हरिबहादुर पालले जनाएका छन् ।

पौडेल देउवा पक्षका कांग्रेस नेता हुन् । महाधिवेशन नजिकिदै गर्दा भएको यस घटनालाई राजनीतिक सड्यन्त्रका कारण हत्या भएको आशंका गरिएको छ । यसअघि नेविसंघको केन्द्रिय सदस्य रहेका उनी पार्टीका बिभिन्न तहमा रहेर काम गरिसकेका नेता हुन् । उनी क्षेत्र नम्बर १ बाट जिल्ला प्रतिनिधि समेत थिए । घटनापछि नेता शेरबहादुर देउवाले स्थानिय प्रहरी अधिकारीलाई सम्पर्क गरी घटनामा संलग्नमाथि कडा कारबाही गर्न आग्रह गरेका छन् ।

पौडेल, तिवारी र आफु फर्कदै गर्दा आक्रमण भएको घटनामा घाईते मनोज गुरुङले बताए । बाटोमा मरणासन्न छाडिएका मनोजलाई स्थानीयबासीले उद्वार गरी राती मणिपाल शिक्षण अस्पतालमा लगेका थिए । उनकी पत्नी चन्द्रावती पौडेल गोगन उच्च माविमा पढाउँछिन् । हत्यापश्चात पौडेलकी आमा, श्रीमती लगायत परिवारका सदस्य र छिमेकी शोकमा छन् ।

आरोपी गौतमको गाडीमा आगजनी

पौडेलको हत्यामा संलग्न भएको भन्दै स्थानीय आक्रोशित भिडले लेखनाथ–१२ का विश्वास गौतमको गाडीमा आगजनी गरिदिएका छन् । गौतमको बा १३ च ३२८० नम्बरको मारुती सुजुकी कार पौडेलको शव भन्दा केही माथि पृथ्वीराजमार्ग छेउ एक घर अगाडी पार्किङ गरीराखेको अवस्थामा भेटिएको थियो । स्थानीय आक्रोशित भिडले हत्यामा गौतम संलग्न भएको आंशका रहेको भन्दै गाडीमा आगजनी र तोडफोड गरिदिएका थिए । गाडी पूर्ण रुपमा क्षति भएको छ ।

लेखनाथ दिनभर तनाबग्रस्त

प्रहरीले पौडेलको शवको मुचुल्का तयार गरेर आफन्तलाई बुझाउने प्रयास गरेपनि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै परिवारले दिनभर अडान लिएपछि साँझ प्रहरीले हस्तक्षप गरेको छ । शुक्रवार बिहान ८ बजेदेखि सुरु भएको प्रदर्शनले दिनभर तनाव सिर्जना गर्यो । स्थानीयले पौडेलको हत्या भएको विरोधमा पृथ्वी राजमार्ग विहानैदेखि अबरुद्ध पारेका थिए भने प्रदर्शन समेत गरे । टायर बाल्दै गरिएको प्रदर्शनमा देउवा पक्षधर नेता कार्यकर्ता र स्थानीय छिमेकी सहभागी थिए । प्रर्दशनको क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप समेत भयो । स्थानीयले ठाउँठाउँमा टायर बालेर नाराबाजी गरेका थिए । विरोधको क्रममा प्रर्दशनकारीहरुले बाटो अवरुद्ध पार्दा यात्रुहरु भने बीच बाटोमै अलपत्र परेका थिए । पोखराबाट बाहिरिने सवारी बिजयपुरमै रोकिएको थियो भने पोखरा भित्रने सवारी कास्की प्रवेश स्थल कोत्रेमै रोकिदा हजारौ यात्रु अलपत्र परे । यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै १० घण्टासम्म अनवरत प्रयासपछि बाटो खुलाउन सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले बताए ।

प्रहरीले अपरान्ह पौने पाँच बजे बल प्रयोग गरी शब उठाएको थियो । सो क्रममा भएको झडपमा केहि प्रहरी, शसस्त्र प्रहरी र स्थानिय प्रदर्शनकारी घाईते भएका छन् । घटनास्थलबाट शब उठाएपछि प्रदर्शनकारीलाई हटाउन प्रहरीले केहि शेल अश्रुग्यास समेत प्रहार गरेको थियो । शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कार्यकर्तालाई संयमित रहन काँग्रेस कास्कीको आह्वान

नेपाली काँग्रेस कास्कीले नेता रामजी पौडेल क‘बादल’को हत्याको घटनालाई लिएर संयमित रहन आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेको छ । शुक्रबार पार्टीको तर्फबाट कास्की काँग्रेसका सचिव युवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कार्यकर्ताहरुलाई संयमित हुन आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस कास्कीका पुर्व जिल्ला सदस्य, पुर्व महाधिवेशन प्रतिनीधि तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रामजी पौडेलको हत्याको कारण नेपाली काँग्रेस कास्की स्तब्ध भएको समेत प्रेस विज्ञप्तीमा उल्लेख छ । साथै उसले हत्याको कारणले नेपाली काँग्रेसलाई अपुरनीय क्षती पुगेको बताएको छ । रामजी हत्यामा संलग्नलाई यथाशीघ्र पक्राउ गरि कडा कारबाहि गर्न कास्की काँग्रेसले जोडदार माग गर्दछ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: