
पोखरा, ३० साउन / अब बन्ने संविधानमा नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गर्दै पोखरामा शनिबार शंखघण्टसहित त्रिशुल र डमरु जुलुस प्रदर्शन गरिएको छ । हिन्दू राष्ट्र संरक्षण अभियानको आह्वानमा पोखराको सभागृहचोकबाट सुरु जुलुस न्यूरोड हुँदै चिप्लेढुंगा पुगेर विराट धर्मसभामा परिणत भएको थियो ।
हातहातमा त्रिशुल बोकेका सहभागीहरुले शंखघण्ट र डमरु बजाउँदै नेपाललाई सनातन हिन्दू राष्ट्र कायम नगरिए संविधान च्यातिने चेतावनी दिए । प्रचण्ड गर्मीका बाबजुद पनि जुलुसमा गाउँ गाउँबाट सहभागीहरु स्वतःस्फुर्त निस्किएका थिए ।
चिप्लेढुंगामा भएको धर्मसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि चैतन्य कृष्णजीले सदियौदेखि नेपाल सनातन हिन्दू राष्ट्र भएकोले नेपालको संविधान २०७२ मा यसको उल्लेख हुनुपर्नेमा जोड दिए । उनले १ अर्ब ९५ करोड वर्ष पुरानो हिन्दू धर्मलाई नामेट पार्ने गरी धर्म निरपेक्ष वा अन्य शब्द उल्लेख गरिए विश्वका चार अर्ब ओमकार परिवार र दुई सय १३ करोड हिन्दूहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।
उनले जिसस क्राइष्टले धर्मको पाठ र योग सिकेको भूमि नेपाल भएको उल्लेख गर्दै कसैको बहकाउमा साँस्कृतिक उपनिवेश लाद्न खोजिन्छ भने नेपालमा रहेका ८४ प्रतिशत हिन्दूहरुलाई मान्य नहुने बताए । हिन्दू धर्म नेपालमा सुरु भै विश्वभर पैmलिएको भन्दै उनले १ सय ४५ राष्ट्रले संविधानमा धर्म उल्लेख गर्दा नेपालमा सनातन हिन्दू राष्ट्र उल्लेख गर्न मिल्दैन भन्नेहरुले भविष्यमा मुलुक छाडेर जानुपर्ने चेतावनी दिए ।
युवापण्डित कमलनयन गौतमले सौन्दर्यता जसरी सल्लाघारी हुँदा सुहाउँछ त्यसैगरी नेपालको सुन्दरता यहाँ सनातन हिन्दू राष्ट्र हुँदा सुहाउने तर्क गरे । उनले हिन्दू धर्मको महिमा उल्लेख गर्दै हिन्दू धर्म कहिल्यै नास नहुने भएकोले यो सनातन भएको बताए । उनले आफूहरुले जिताएर पठाएका नेताहरुले नै जनताको मनोभावना नबुझी त्यसको विरुद्धमा लागे आफूहरुलाई सह्य नहुने बताए ।
हिन्दू राष्ट्र संरक्षण अभियान अध्यक्ष डा. लेखनाथ आचार्यको अध्यक्षतामा भएको धर्मसभामा विन्ध्यबासिनीका पिठााधीश निशेषानन्द महाराज, अभियान सचिव धनपति शर्माले पनि बोलेका थिए ।
चरणबद्ध आन्दोलनअन्तर्गत आइतबार गण्डकी–धौलागिरि बन्द आह्वान गरिएको छ । अभियानको दबाबमूलक कार्यक्रममा पछिल्लो समय विभिन्न समुदाय पनि साथ दिएको विश्व हिन्दू महासंघ उपाध्यक्ष वेदनीधि शर्माले बताए ।
