
काठमाडौं, श्रावण ३० । चीनको उत्तर पूर्वी तियानजिन सहरमा रसायन राखिएको गोदाममा बुधबार भएको विस्फोटपछि ३ किलोमिटरसम्मका बस्ती खाली गर्न लागिएको छ ।
रसायनिक पदार्थले स्वास्थ्यमा असर पार्नेत्रास बढेपछि चिनियाँ अधिकारीहरुले यो निर्णय गरेका हुन् । हावाको दिशा अस्वभाविक रुपमा परिवर्तन हुनु र सोडियम साइनाइड जस्तो विषाक्त रसायन विस्फोट स्थलनजिक फेलापरेको अधिकारीहरुले जनाएका छन् । तर, एकजना व्यक्ति भने विस्फोेट स्थलबाट ५० मिटरको दूरीमा जीवितै भेटिएको ‘सिन्ह्वा’ समाचार एजेन्सीले जनाएको छ ।
विस्फोटका कारण ३ किलोमिटरसम्मका भवन र सवारी–साधन ध्वस्त भएका थिए । विस्फोटमा परी मर्नेको संख्या ८५ पुगेको छ । मृत्यु हुनेमा अग्नि नियन्त्रकका २१ कर्मचारी पनि छन् ।
खतरनाक रसायन राखिएको रुइहे लजिस्टिक्स कम्पनीको गोदाममा भएको विस्फोटमा ७ सय २१ जना घाइते भएका छन् भने ५० जनाको अवस्था गम्भीर छ । विस्फोटका कारण प्रभावित करिव ३५ हजार मानिसलाई विभिन्न अस्थायी शिविरमा राखिएको छ ।
विस्फोटको समयमा गोदाममा रसायन चुहिएको थियो वा थिएन भन्नेबारे केही पत्ता लाग्न सकेको छैन । गोदाममा सोडियम साइनाइड र टोलुइन डायोसएनेट जस्ता खतरनाक रसायन राखिएको थियो ।
यसैबीच, चीन सरकारले खतरनाक रसायन र विस्फोटक पदार्थका सम्बन्धमा देशभर जाँच गर्न आदेश दिएको छ ।
