
रञ्जन अधिकारी पोखरा, ६ भदौ / नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन आइतबार पोखराको जनजीवन प्रभावित बन्यो । पहिचानको आधारमा प्रदेशहरु निर्माण तथा धर्म निरपेक्षता लगायत माग राख्दै आयोजित बन्दको क्रममा पोखरामा कुनै अप्रिय घटना भने भएन ।
सडकमा सवारी नचलेपनि भित्री ठाउँमा भने पसल खोलिएका थिए । शिक्षण संस्था, उद्योग, कलकारखाना सञ्चालन हुन भने सकेनन् । पर्यटक बसलाई प्रहरीले स्कर्टिङ गरी पोखराबाट छुटाएपनि लामो तथा छोटो दुरीका अन्य सवारी नचल्दा सर्वसाधारण मर्कामा परे । बन्द सफल पार्न भन्दै महासंघका कार्यकर्ताहरु पोखराका मुख्य–मुख्य चोकमा बसेका थिए । चोकचोकमा सुरक्षाकर्मी बाक्लो रुपमा खटाईएको थियो भने केहि संख्यामा आन्दोलनकारी पनि समूहमा बसेको देखिन्थे ।
साउनदेखि एक महिना अवधिमा पाँच दिन नेपाल बन्द भईसकेको छ । पटकपटकका बन्दले भने जनता आजित भएका छन् । बन्दको विकल्पमा अन्य दबावमूलक कार्यक्रम गर्नुपर्नेमा सबैले बन्दलाई नै प्राथमिकता दिँदा काम गरेर हातमुख जोड्नेहरु अब बन्द विरुद्ध सडमा उत्रिन थालेका छन् । पछिल्लो क्रममा बन्दको अवज्ञा गर्ने क्रम बढ्दो छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले संविधान निर्माण र लिपुलेक सम्झौताविरुद्ध एक दिन नेपाल बन्द गरेको थियो भने साउन अन्तिममा विभिन्न माग राख्दै वैद्य नेतृत्वको माओवादी तथा मधेश केन्द्रित दलहरुले दुई दिने बन्द गरेको थियो । हिन्दू राष्ट्र संरक्षण अभियानले पनि नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग गर्दै गण्डकी–धौलागिरि बन्द आह्वान गरेपछि सो बेला जनता दोहोरो बन्दको मारमा परेका थिए ।
आईतबार पोखराको सृजनाचोक, जिरो किमि क्षेत्रका जनताले बन्द अवज्ञा गर्दै केहि पसल खोलेका थिए । बन्दकर्ताहरु जर्बजस्ती बन्द गराउँदै हिँडेपछि स्थानीयवासीसँग विवाद पनि भएको थियो । प्रहरी नै पुगेर घटना साम्य बनाएको थियो ।
व्यवसायीले पसल खोल्न शुरु गरेपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले बन्द विरुद्धमा उत्रिएका व्यवसायीलाई सुरक्षा दिनुपर्ने बताए । संघले बन्दको अबज्ञा गर्दै सोमबार पोखराका सबै बजार खोल्ने जनाएको छ ।
काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको छ । बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ । अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् । आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो । बन्दको दोहोरो मारमा सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला परेका हुन् थारु संघर्ष समितिको बन्दका कारण पश्चिमी जिल्ला पनि बन्दको दोहोरो मारमा छन् ।
‘बन्द सदाका लागि बन्द’ भन्दै निस्किए युवा सडकमा
यसअघिका बन्द झैं युवाहरु आईतबारको बन्द विरुद्ध पनि सडकमा उत्रिए । निरन्तरको आमहड्ताल र नेपाल बन्दको भत्र्सना गर्दै युवाहरु राष्ट्रिय झण्डा र बन्द विरोधी प्लेकार्डहरु बोकेर निस्किए । उनीहरुले यसअघिको बन्दमा बन्द विरुद्ध हस्ताक्षर अभियान नै संचालन गरेका थिए ।
कम अन युथ स्टान्ड अप (सीवाईएसयू) र मेन्स रुम रिलोडेड (एमआरआर) आबद्ध पोखराका युवाहरुले आईतबार शान्ति ¥याली निकालेका हुन् । सभागृहचोकबाट सुरु भएको ¥याली न्युरोड हुँदै चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक क्षेत्र परिक्रमा गर्दै पुनः सभागृहचोकमा फर्केर समापन गरे । ‘बन्द सधैंका लागि बन्द गरौं ’, ‘नेपाल खुल्ला छ’, ‘गरी खान दे’ लगायतका प्लेकार्ड सहभागीले बोकेका थिए ।
बन्दले पोखराका साथै देशको सम्पूर्ण अर्थतन्त्र, भौतिक पुर्वाधार विकास, सामाजिक तथा शैक्षिक विकास आदि क्षेत्रमा नकारात्मक असर परेको भन्दै ¥याली निकालेको बन्द विरोधी युवाहरुले जनाए ।
राजनैतिक अस्तव्यस्ततालाई साम्य पार्दै बन्दका कार्यक्रमलाई सदाका लागि बन्द गर्नु नै कार्यक्रमको उद्देश्य रहेको कम अन युथ स्टान्ड अपका रविन शर्माले बताए ।
एमआरआर पोखराका सुर्य तिमिल्सिनाले बन्द सधैका लागी बन्द गर्नु पर्ने बताउँदै बन्दकर्तालाई बन्दको विकल्प खोज्न आग्रह गरे । बन्दको दिनमा आफूहरु सधैं यसैगरी सडमा आउने बताउँदै उनीहरुले सबै नागरिकको साथ पाएपछि चोकमा थोरै संख्यामा थुप्रिने बन्दकर्ताहरु हतोत्साही हुने र स्वतः बन्द निष्प्रभावी बन्ने बताए । आगामी दिनहरुमा पसल, स्कुल कलेज खोल्नका लागि प्रोत्साहन गर्ने पनि उनीहरुले जनाए ।
