
६ भदौ, काठमाडौं ।राप्रपा नेपालका सभासदहरुको नाराबाजीका बीच नयाँ संविधानको विधेयक संविधानसभामा पेश भएको छ । फोरम लोकतान्त्रिकसहितका मधेस केन्द्रीत दलहरुले आइतबार साँझ बसेको बैठक बहिस्कार गरेका थिए । राप्रपा नेपालका सभासदहरुले भने हिन्दु राष्ट्र नभएको भन्दै नाराबाजी गरेका छन् । नाराबाजीका बीच मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले विधेयक पेश गरेका छन् । केही दल संविधानसभाबाट बाहिरिएको र केही दलले नाराबाजी गरिरहेको भन्दै उनले दलहरुले वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गरेका छन् । ‘विधेयक परिर्माजन गरेर संविधान दिन सकिन्छ’ सभापति सिटौलाले भने-‘नाराबाजी गर्ने र बहिस्कार गर्ने समय होइन । एक ठाउँमा बसेर आफ्ना विचार राख्नु पर्ने समय हो ।’
सभापति सिटौलाले संविधानसभामा अब राजतन्त्रबारे छलफल हुन नसक्ने बताए । उनले भने-‘अब राजतन्त्र आउँदैन, गणतन्त्रबाट फर्कन सकिँदैन ।’विधेयक पेश गर्नुअघि सीमांकनमा जिल्ला टुक्राएको विषयमा केहि सभासदले विरोध जनाएका थिए । प्रस्तावित ७ प्रदेशको खाकामा रुकुम र बाग्लुङलाई टुक्राएको भन्दै धवलागिरीबाट प्रतिनिधित्व गर्ने सभासदले आपत्ति जनाएका हुन् ।
सभासद अर्जुनप्रसाद जोशी, चित्रबहादुर केसी, श्रीमाया थकाली लगायतले जिल्ला टुक्राएकोप्रति आपत्ति जनाउनुभयो । यस्तै मधेस र थारु बहुल क्षेत्रलाई टुक्राएर कमजोर बनाउने षड्यन्त्र भएको भन्दै यसलाई सच्याउन माग गर्दै सभासद जितेन्द्र देव, रुक्मिनी चौधरीलगायतले सिमांकनको विरोध गर्नुभयो ।बुधबार विहान ८ बजेदेखि प्रस्तुत विधेयक माथि सैद्धान्तिक छलफल हुने जनाइएकाे छ ।
सात प्रदेशमा दलहरुबीच नयाँ सहमति भएपछि संविधानको विधेयकले पूर्णता पाएको हो। यही विधेयक अब संविधानका रुपमा पारित हुनेछ। तर छलफल र संशोधनको प्रकियामा क्रममा कतिपय विषयमा परिमार्जन हुनेछ। त्यसका लागि शीर्ष तहमा छलफल भइरहेको छ।
संविधानसभामा विधेयक पेस भएपछि सभासद्लाई अध्ययनका लागि तीन दिन समय दिनुपर्ने व्यवस्था नियमावलीमा छ। यसबीचमा संसद्बाट बजेट पारित गराएर संविधानमा केन्द्रित हुने गरी सभाध्यक्ष सुवास नेम्बाङले दलहरुलाई निर्देशन दिएका छन्।
संविधानलेखन कार्यतालिकाअनुसार त्यसपछि सभासद्लाई विधेयकमाथि संशोधन हाल्न दिनुपर्छ। संशोधनका लागि सात दिन समय दिनुपर्ने व्यवस्था रहे पनि सभाध्यक्ष नेम्बाङ त्यसलाई घटाएर बढीमा दुई दिन बनाउन दलहरूसँग छलफलमा जुटेको स्रोतले बतायो ।
