
काठमाडौं ८ भाद्र / कैलाली घटनापछि गृहमन्त्रालयको निर्देशनमा सुदूरपश्चिमाञ्चल क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई हेडक्वाटर तानिएका छन्। सुरक्षा स्रोतका अनुसार घटनापछि सुरक्षा प्रमुखहरुले समयमै सही निर्देशन दिन नसक्दा मानवीय क्षति भएको देखिएपछि सबै सुरक्षा प्रमुख फेरिएका हुन्।
सशस्त्र प्रहरी बलले सशस्त्र मुख्यालय वैद्यनाथ बाहिनीका बाहिनीपति खडानन्द चौधरीलाई हेडक्वाटर तानेर उनको स्थानमा सुरज श्रेष्ठलाई पठाएको छ । प्रहरी प्रधान कार्यालयले क्षेत्रीय प्रहरी कार्यालय सुदूरपश्मिका प्रमुख रामकुमार खनाललाई हेडक्वाटर तानी उनको स्थानमा माधव नेपाललाई पठाएको छ ।
प्रदर्शनकारीबाट मारिएका एसएसपी लक्ष्मण न्यौपानेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए ।
कार्यक्षमतामा प्रश्न उठाउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई सरकारले गृहमन्त्रालयमा तानेको छ । कार्यशैली सन्तोषजनक नभएको र टीकापुर घटनामा मृत्यु भएकाहरुको विवरण पनि गलत संप्रेषण गरेको उनीमाथि आरोप लगाइएको छ । श्रेष्ठको स्थानमा क्षेत्रीय प्रशासन कार्यालयका मोहन चापागाईंलाई पठाएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
