शान्तिको कामना गर्दै पोखरामा युवाहरुको सद्भाव ¥याली

Share:

रञ्जन अधिकारी पोखरा, ८ भदौ / नयाँ संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै मुलुकको विशेषगरी मधेशमा भईरहेको आन्दोलन हिंस्रक बन्दै गएपछि शान्ति र जातिय सद्भावको कामनाका साथ पोखरामा सद्भाव ¥याली निकालिएको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर चलाउने युवाहरुका साथै सिवाईसीयू, विवेकशील नेपाली र रोट¥याक्ट क्लब अफ पोखरा न्यूरोडका युवाहरुले मंगलबार साँझ दुई समूहमा शान्ति ¥यालीको आयोजना गरेका हुन् । कैलालीको टीकापुरमा सोमबार शान्ति सुरक्षार्थ खटिएका राष्ट्रसेवकको आन्दोलनकारीबाट निर्मम हत्या भएपछि आन्दोलनमा ज्यान गुमाएकाको चीर शान्तिको कामनाका साथ युवाहरुले मैन प्रज्ज्वलन गरे ।

युवाहरुको फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर), कम अन युथ स्टान्ड अप (सीवाईएसयू), विवेकशील नेपालीका युवाहरुले पोखरा उपमहानगरपालिका कार्यालय न्युरोडदेखि राष्ट्रिय झण्डा र राष्ट्रियताका नारा लेखिएका प्लेकार्डहरु बोकेर महेन्द्रपुल पुगेर सभामा परिणत गरेका थिए । उनीहरुले नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, यहाँ देशको छ चिन्ता, हिमाल पहाड तराई कोहि छैनौं पराई, पहिले नेपाली अनि जातजाति लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

20150825_185953

सभामा बोल्दै मानवअधिबारवादी नेता टेकनाथ बरालले देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला युवाहरु जागरुक भएर शान्तिको उद्घोषका साथ सबैको ध्यानाकर्षण गराएकोमा आभार व्यक्त गरे । ‘मुलुक यसरी नै अघि जाने हो भने झन् जटिल बन्नेछ । राजनीतिक नेतृत्वको दुरदर्शी निर्णय, जनताको संयमताको खाँचो छ’ –उनले भने – युवाहरु यसरी जागरुक बनी शान्तिको सन्देश फैलाउने कार्यको सुरुवात गरेकोेमा मलाई खुशी लागेको छ ।

नेपाल बचाउनका लागि शान्ति, सुशासन, मानवीय व्यवहार हुनुपर्छ भन्दै उनले सबै नेपालीले चाहेको कार्यक्रम, सबै नेपालीले हिँड्नुपर्ने महसुस गरेको यही शान्तिको बाटो भएकाले हामीले हाम्रो संस्कार, संस्कृति, सभ्यता, धर्म, रितिरिवाज परम्परालाई कायम राख्दै आपसी सद्भाव कायम गर्नुपर्ने खाँचो औंल्याए ।

सीवाईएसयू पोखराका प्रतिनिधि सरीता पुरीले भुकम्पमा, बाढी आएका बेला ज्यानको बाजी लगाई जनताको रक्षामा खटिएका सुरक्षाकर्मीलाई जिउँदै जलाउने, भाला रोप्ने जस्तो क्रुर ढंगले मार्नु अत्यन्त निन्दनीय भएको भन्दै आफ्नै देशको भुभाग यताउता पर्दा यसरी जातिय सद्भावमा खलल पुग्ने गरी नउत्रन आग्रह गरिन् ।

कार्यक्रममा एमआरआरका सदस्य दामोदर भण्डारी, सूर्य तिमिल्सिना, राज खनाल, विवेकशील नेपालीका दिल श्रेष्ठ, सीवाईएसयूका रविन शर्माका साथै पवनकाजी पौडेल लगायतले सामाजिक सञ्जाल प्रयोगकर्ता युवाहरुले पनि समाजमा सद्भाव कायम गर्न जुट्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन संचारकर्मी निशा पन्थीले गरेकी थिईन् ।

20150825_184851

यस्तै, पोखरेली टुईटे समूहले मानवअधिकार चोकदेखि हातमा मैन प्रज्ज्वलन गरी चिप्लेढुंगा हुँदै महेन्द्रपुल पुगेर पुनः मानवअधिकारचोक पुगी शान्ति ¥यालीको समापन गरेका थिए । हिमाल पौडेलले कैलाली घटनामा वीरगति प्राप्त राष्ट्रसेवकको चीर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेको बताए । पोखराका सामाजिक संजाल प्रयोगकर्ता युवाहरु बन्द विरुद्ध पनि उत्रने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: