सुनसान छ लुम्बिनी औद्योगिक कोरिडोर, दैनिक १० करोडको नोक्सानी

Share:

भैरहवा, भदौ १३ – भैरहवा—लुम्बिनी सडक खण्डको गुरवनियादेखि सेमरी सम्मको क्षेत्र शान्त छ । सधै जस्तो ठूला–ठूला मेशीनको गड् गडाहट छैन, धुलो छैन, धुवा छैन । स्थानीयमा त्रास देखिन्छ । यो अवस्था पहिले देखिकै चाही होइन, बरु केही दिन यताको मात्र हो ।

संयुक्त मधेशी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दले गर्दा रुपन्देहीको लुम्बिनी औद्योगिक कोरिडोरमा अहिले सन्नाटा छाएको छ । सधै ठूला ठूला मेशीनका आवाज सुनेर निदाउने बानी परेका स्थानीय अहिले फैलिएको त्रास लाग्दो शान्तीको कारण कहिले के हुने हो भन्ने आशंकामा बाचिरहेका छन ।
यता लुम्बिनी कोरिडोरमा रहेका उद्योगको भने आफ्नै समस्या छ । बिगत १८ दिनको लगातार बन्दको कारण लुम्बिनी कोरिडोरमा रहेको ११ वटा सिमेन्ट उद्योग, २ स्टिल उद्योग, जगदम्बा सिन्थेटिक, जगदम्बा स्पिनिङ्ग लगायत दाल, आयल, फ्लोर तथा अन्य कारखाना बन्दको चपेटामा परेका छन । बन्द शुरु भए देखि नै यी कलकारखाना सञ्चालन हुन नसक्दा दैनिक करौडौको घाटा त भैरहेकै छ, हजारौ मजदुर बेरोजगार हँुदा उनीहरुको परिवारमा समेत समस्या हुँदै गएको छ ।

 अहिले लुम्बिनी कोरिडोरमा रहेका सिमेन्ट उद्योगमा लोडिङ्ग तथा अनलोडिङ्ग एवम उत्पादनको ठप्प रहेको ब्यावसायी बताउँछन । जगदम्बा सिमेन्ट प्रालीका प्रवन्ध सञ्चालक बिदुर ढुङ्गानाका अनुसार लुम्बिनी कोरिडोरमा रहेका सिमेन्ट उद्योगहरु बाट मात्र दैनिक करिब १० करोड कारोबार हुने गरेको थियो । अहिले उत्पादन ठप्प हुँदा रुपन्देहीमा रहेका सिमेन्ट उद्योगलाई मात्र दैनिक १० करोड भन्दा बढी घाटा गई रहेको उनले दावी गरे ।

जगदम्बा सिमेन्ट प्रालीबाट मात्र दैनिक १० हजार भन्दा बढी सिमेन्टका बोरा बाहिरीने गरेकोमा अहिले १ बोरा पनि बाहिर जान सकेको छैन । कोरिडोरमा रहेका १० भन्दा बढी सिमेन्ट उद्योगहरबाट मात्र अनुमानित दैनिक १ लाख भन्दा बढी बोरा बिक्रि हुने गरेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका सचिव समेत रहेका ढुङ्गानाले बताए ।

बन्दको कारण उद्योगलाई घाटा त भएकै छ, उद्योगमा आश्रित मजदुर तथा कर्मचारी समेत पाल्न धौ धौ परेको ढुङ्गानाको भनाई छ । जगदम्बामा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर देखि लिएर ट्रक चालक तथा उनीहरुका मालिकको समेत रोजगारी गुमेको उनले बताए ।

भुकम्पका कारण ठप्प रहेको उद्योगहरु सञ्चालन हुन नपाउदै मोर्चा लगायत अन्य राजनैतिक दलहरुको पटक पटकको बन्दको कारण उद्योगीहरु पलायन हुने अवस्था आएको ढुङ्गानाले गुनासो गरे । यसै गरि अर्का अर्घाखाची सिमेन्ट प्रालीका महा–प्रवन्धक उद्धव बहादुर कार्कीको गुनासो पनि फरक छैन । पटक पटक बन्दको मारमा कलकारखानाहरु परेको कारण देशको अर्थतन्त्र धाराशायी हुने उनको तर्क रहेको छ । अरबौको लगानीमा खोलिएका यी उद्योगका मेशीनरी समान पनि लामो समयको बन्दको कारण बिग्रिने अवस्थामा पुगेको कार्कीले बताए । उद्योगहरुलाई बन्द मुक्त गर्नु पर्ने उनको भनाई छ ।

अहिले रुपन्देहीको पश्चिमी क्षेत्रमा रहेका यी उद्योगमा स्थानीय प्रशासनले सुरक्षा दिने बताएपनि उद्योगीले बिश्वास गर्न सकेका छैनन् । ‘हाम्रो प्रयास भनेको सामाजिक सदभाववीच उद्योग सञ्चालन गर्ने हो यसको लागी सरकारले नै पहल गर्नुपर्छ ।’ कार्कीले रातोपाटीसँग कुराकानीमा बताए ।

रुपन्देहीमा उद्योगको सुरक्षाको लागी शसस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल समेत रहेको छ । यस अघि औद्योगिक सुरक्षा बल तथा नेपाल प्रहरीको टोलीले नियमित गश्ती गरेको भए पनि अहिले यस क्षेत्रमा प्रहरीको गस्ती नदेखिएको सम्वद्ध उद्योगका कर्मचारीहरु बताउँछन ।

पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालले अहिले बजारमा सिमेन्टको माग रहेको अवश्थामा आपूर्ति गर्न नसकिएको बताए । भुकम्पको मार झेलिरहेको नेपालमा पुनः निर्माणको लागी बजारमा माग अत्याधिक रहेका अध्यक्ष अग्रवालको भनाई छ । बाहिर निर्वाध रुपमा ढुवानीका साधन सञ्चालन हुनै वातावरण नरहेको कारण आपूर्ति गर्न नसकिएको उनले बताए ।

उद्योगको उत्पादनमा त असर परेकै छ त्यसबाहेक बिद्युत, कर, कर्मचारी लगायतको नियमित खर्च पनि बढदै गएको उनले दुखेसो पोखे । अग्रवालले सिमेन्ट उत्पादक संघले उद्योग क्षेत्रमा पनि राहतको लागी आवाज उठाएको जानकारी गराए ।

स्थानीयलाई रुष्ठ गराएर उद्योग सञ्चालन गर्न नसक्ने उनले स्पष्ट पारे । ‘कसरी हुन्छ आन्दोलकारीलाई मनाएर उद्योग सञ्चालन गर्ने वातावरण बनाउने जिम्मा राज्यको हो’ उनले भने ।

– राधेश्याम विश्वकर्मा/डिएनएन Ratopati

कमेन्ट गर्नुहोस्
Share: