बन्द र कर्फ्यूले वीरगन्ज भन्सारमा पाँच अर्बको घाटा

Share:

वीरगन्ज भाद्र २१ / लगातारको बन्द र कर्फ्यूका कारण वीरगन्ज भन्सारमा पाँच अर्बको घाटा लागेको छ।मधेसी मोर्चाको बन्द हडताल र स्थानीय प्रशासनले लगाएको कर्फ्यूका कारण वीरगन्ज भन्सार कार्यालयको राजश्व असुलीमा निक्कै ठूलो गिरावट आएको छ।

बन्द हडताल र कर्फुका कारण तीन साताको अवधिमा वीरगन्ज भन्सार कार्यालयलाइ झण्डै पाँच अर्बको घाटा लागेको छ । मधेशी दलले साउन ३० गते देखि अनिश्चितकालीन हडताल गरेका हुन् भने स्थानीय प्रशासनले वीरगन्जमा भदौ १४ गते देखि कर्फ्यू लगाएको हो। बन्द हडताल र कर्फ्यूका कारण भारतबाट आएका मालबाहक गाडीहरु भन्सारमा अड्किएका छन्। आयातमा निक्कै कमी आएका कारण राजश्व असुलीमा असर परेको कार्यालयका सुचना अधिकृत सुशील शर्माले बताए। बन्द हडताल र कर्फुका कारण सामानको आयात प्रभावित भएपछि २३ दिनको अवधीमा भन्सार कार्यालयलाइ चार अर्ब अर्ब ६९ करोड भन्दा बढी घाटा लागेको सूचना अधिकृत शर्माले जानकारी दिए।

वीरगन्ज भन्सार कार्यालयले दैनिक ३० देखि ३२ करोड राजश्व संकलन गर्ने गरेको छ । तर हडताल र कर्फु लगाइएपछि कार्यालयको राजश्व असुली दैनिक आठ देखि १० करोडमा झरेको शर्माले जानकारी दिए। बन्द हडताल मात्रै हुदा दैनिक १५/१६ करोड राजश्व उठथ्यो , शर्माले भने , तर कर्फु लागेपछि भने दैनिक ८/१० करोड मात्रै संकलन हुने गरेको छ। मधेश केन्द्रित दलहरुले गरेको बन्द हडतालका कारण सुनसान देखिएको वीरगन्ज भन्सार नाका। तस्बिर : क्रान्ति शाह , वीरगन्ज

वीरगन्जमा भदौ १४ गते अपरान्ह चार बजे देखि देखि अनिश्चितकालीन कर्फु लगाइएको हो । कर्फु लगाइएको पहिलो दिन १४ भदौंमा १२ करोड नौ लाख २१ हजार ६२ रुपैया राजश्व संकलन भएको थियो । तर कर्फु लगाइएको दोश्रो दिन र तेश्रो दिन भने राजश्व असुली शुन्यनै भयो । दुवै दिन झडप र कर्फुका कारण वीरगन्जको अवस्था निक्कै तनावपूर्ण रहेका कारण एक रुपैया पनि राजश्व नउठेको सुचना अधिकृत शर्माले बताए । उनले भने , ‘मलाइ लाग्छ वीरगन्ज भन्सार कार्यालयको इतिहासमै पहिलो पटक दुइ दुइ दिन सम्म राजश्व असुली शुन्य भएको हो।’

कर्फ्यू जारी रहेको भदौ १७ गते ६ करोड तीन लाख चार हजार दुइ सय ८२ ,भदौं १८ गते ११ करोड ४४ लाख १९ हजार दुइ सय ५६ , भदौं १९ गते नौ करोड ८२ लाख ९६ हजार ६ सय ५७ र भदौ २० गते आठ करोड तीन लाख ५० हजार दुइ सय एक रुपैया राजश्व संकलन भएको छ।

बन्द हडताल र कर्फुका कारण भन्सार विभागले भदौ महिनाका लागि दिएको लक्ष्य पुरा गर्न असम्भव देखिएको सुचना अधिकृत शर्माले बताए । भदौ २० गते बिति सक्दा समेत विभागले दिएको लक्ष्यको २३ प्रतिशत मात्र राजश्व संकलन भएको उनले जानकारी दिए।भन्सार विभागले भदौ महिनामा कार्यालयलाइ आठ अर्ब ८२ करोड ५० लाख २८ हजार राजश्व संकलन गर्न दिएकोमा कार्यालयले भदौ २० सम्ममा दुइ अर्ब १४ करोड ८० लाख १३ हजार मात्र राजश्व संकलन गरेको छ ।

बन्द हडताल र कर्फुका कारण ढुवानीका साधनहरु संचालनमा नआएकाले भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको मालसामान ढुवानी हुन नसकि भन्सार कार्यालयमै थन्किएको कारण राजश्व असुली घटेको कार्यालय प्रमुख मीत्रलाल रेग्मीले बताए।

अहिले असुली भएको राजश्व प्रहरीको स्कर्टिङमा पठाइएका मालसामानको मात्र हो , त्यसमा पनि पेट्रोलियम पर्दाको हिस्सा बढि छ , अरु सामान खासै आयात भएका छैनन् , उनले भने।

कर्फ्यू लगाएर १५ सय मालवाहक गाडी पठाइयो

भदौ १४ गते देखि कर्फ्यू लगाइए यता एक साताको अवधीमा स्थानीय प्रशासनले प्रहरीको स्कर्टिङमा वीरगन्जमा नाकाबाट झण्डै १५ सय वटा मालवाहक गाडी विभिन्न गन्तव्यमा पठाएको छ। कर्फ्यू लगाइएको एक साताको अवधीममा पेट्रोलियम पदार्थ र अत्यावश्यक उपभोग्य वस्तु लोड भएका एक हजार चार ५१ वटा मालवाहक गाडी काठमाण्डौ , चितवन , पोखरा लगायतका स्थानमा स्कर्टिङ गरेर पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार कर्फु लगाइएको भदौ १४ देखि भदौ २० गते सम्म सात दिनको अवधीमा डिजेल , पेट्रोल ,मट्टी तेल र ग्याँसका ६ सय ७९ ओटा टयांकर विभिन्न गन्तव्यमा पठाइएको छ।

आइतवार राति मात्रै तीन सय भन्दा बढि मालवाहक गाडी विभिन्न गन्तव्यमा पठाइएको भण्डारीले जानकारी दिए । कर्फु लगाएपछि वीरगन्जमा आन्दोलनरत दलको प्रदर्शन , जुलुश , सभा नभएका कारण स्थाानीय प्रशासनललाइ वीरगन्ज नाकाबाट मालवाहक गाडी भित्रयाउन सहज भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका गाडी रातिको समयमा स्थानीय प्रशासनले प्रहरीको स्कर्टिङमा विभिन्न गन्तव्यमा पठाउने गरेको छ ।

मालसामान पठाउनकै लागि जिल्ल प्रशासन कार्यालय बाराले पनि पथलैया देखि बाराको सीमा पर्ने वीरगन्जको परवानीपुर सम्मको सडक खण्डमा हरेक राति आठ बजे देखि बिहान सात बजे सम्मका लागि कर्फु लगाउने गरेको छ ।

आन्दोलनकारीहरुको प्रभाव वीरगन्ज देखि जितपुर सम्म मात्र रहेको हुदा पर्साको स्थानीय प्रशासनले प्रहरीको स्कर्टिङमा मालवाहक गाडीहरुलाइ जितपुर सम्म पुरयाउने गरेको छ ।

क्रान्ति शाह | Annapurna Post

कमेन्ट गर्नुहोस्
Share: