
काठमाडौं, भदौ २४ । झन्डै महिना दिनदेखि तराई क्षेत्रमा जारी बन्द, हडतालले औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ ।
सीमांकन र प्रदेश संख्याको नाममा महिना दिनदेखि तराईलगायतका क्षेत्रमा जारी आन्दोलनले साना किसानदेखि ठूला उद्योगी–व्यवसायी प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले ‘नेपालमा यतिखेर उद्योग–व्यवसाय सन्चालन गर्नु त पाप गरिएको रहेछ भन्नेसम्मको अवस्थामा पुगिसकेको’ उल्लेख गरे ।
‘अब केही दिन यस्तै अवस्था जारी रहने हो भने थुप्रै उद्योगधन्दा आफैं बन्द हुने अवस्थामा पुग्ने’ उनको ठहर छ ।
‘महिना दिन बन्द, हडताल हुँदा, बैंकको किस्ता, कामदारलाई ज्याला अनि राज्यलाई कर कसरी तिर्ने ?’ उनको प्रश्न छ ।
यतिखेर करिब २ हजार साना–ठूला उद्योग बन्द छन् । भारत र अन्तर्राष्ट्रिय बजारबाट सामान लिएर आएका ट्रक र कन्टेनरहरु नेपाल छिर्न नपाएर भारतर्फको सडकमा अलपत्र छन् ।
भारतको सीमामा ६० देखि ७० किलोमिटर सडकसम्म कन्टेनरहरु थन्किएको जनाइएको छ । यसका लागि मात्र दैनिक १० करोड बढीको नोक्सानी बेहोर्नुपरेको महासंघको भनाइ छ ।
जुनसुकै बहानामा गरिने आन्दोदनको पहिलो शिकार उद्योग–व्यवसाय नै हुनेप्रति उनको दुखेसो छ ।
महासंघका प्रतिनिधिमन्डलले आन्दोलनरत दल र समूहहरुका अध्यक्ष, संयोजकहरुलाई भेटेर आन्दोलनको स्वरुप परिवर्तन गर्न पनि आग्रह गरिसकेको छ ।
महिना दिनदेखि औद्योगिक क्षेत्र प्रभावित हुँदा पनि राज्य र दलहरु अर्थतन्त्रप्रति गम्भीर नभएको निजी क्षेत्रको गुनासो छ । ‘बन्दको संस्कार जारी रहने हो भने मुलुक कहिल्यै उभो नलाग्ने’ भन्दै नयाँ संविधानमा बन्द आयोजकले क्षतिपूर्ति दिने व्यवस्था राखिनुपर्ने मुरारकाको माग छ ।
सबै समस्या वार्ताबाटै समाधान हुन सक्ने भन्दै महासंघ वार्ता र संवादको वातावरण बनाउन मध्यस्थता गर्न तयार रहेको पनि अध्यक्ष मुरारकाले हामीसँग बताए ।
‘सबैले आफ्ना माग राख्नेक्रममा आफूहरुको उद्योग–व्यवसाय गरेर खान पाउने मौलिक हकप्रति पनि सचेत भैदिन’ निजी क्षेत्रको आग्रह छ ।
