
पोखरा, २९ भदौ, यसबर्षको सराङ्गकोट खोज पत्रकारीता पुरस्कार २०७२ पत्रकार प्रेम नेपालीलाई प्रदान गरिएको छ । साप्ताहिकको सातौं बार्षिकोत्सवको अवसरमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा नेपालीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको लागि गठित प्रतिभा छनौट समितिले नेपालीलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको सराङ्गकोट साप्ताहिक पत्रिकाका प्रधान सम्पादक यदुनाथ बञ्जराले बताए ।
खोजमुलक समाचारमा रुचि राख्ने, निडर र कृयाशिल पत्रकारका रुपमा नेपालीलाई सम्मान गर्न सिफारिस गरिएको प्रतिभा छनौट समितिका संयोजक राज बहादुर गुरुङ्गले बताए ।
सम्मानपछि बोल्दै पत्रकार नेपालीले पुरस्कारले आफुलाई अझ सशक्त र खोजमूलक पत्रकारिता गर्ने हौसला मिलेको बताए । नेपालीले आफुले पाएको पुरस्कारबापत्को रकममा त्यती नै रकम थप गरेर वृद्धवृद्धाहरुका लागि सहयोग गर्ने घोषणा पनि गरे ।
यसअघि कान्तिपुर पब्लिकेशनमा आबद्ध पत्रकार नेपाली पछिल्लो समय अन्नपूर्ण पोष्टको पोखरा ब्युरो प्रमुखका रुपमा कार्यरत छन् ।
२०५७ सालबाट पत्रकारीतामा निरन्तर कृयाशिल उनले तत्कालीन अबस्थामा पोखरेली राष्ट्रिय दैनिकबाट उनले पत्रकारीता सुरु गरेका थिए । उनले नेपाली जनमत राष्ट्रिय दैनिक, गगन, पोखरापत्र कान्तिपुर दैनिकमा पनि काम गरिसकेका छन् ।
पुरस्कार बितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले नेपालमा खोज र जोखिमपुर्ण पत्रकारीताको बिकासको आबस्यक भएको बताए । जनतालाई सुचनाको गहिराईमा पुगेर समाचार दिन सक्ने पत्रकार कम मात्र भएको उनको भनाई थियो । बिस्वमा पछिल्लो समय अनलाईन पत्रकारीताको बिकास हुन थालेपनि पत्रीकाको महत्वको कम नभएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष राजेन्द्र अधिकारीले दलाल र कालोबजारीयाहरुले मिडियामा लगानी गरेर भक्ती गित गाउनेहरु लाई मात्र पुरस्कार दिने गरेको अबस्थामा सराङ्गकोट साप्ताहिकले चालेको कदम सहि भएको बताए । अब जोखिम र खोजमुलक पत्रकारीताको लागि प्रोत्साहन मिलेको उनको भनाई थियो ।
नेपालीलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाको पुरस्कार राशिले सम्मान गरिएको थियो ।
सम्मानित पत्रकार नेपालीले सोही बराबरको रकम थपेर पोखरा बृद्धाश्रममा सहयोग गर्ने घोषणा गरेका छन । सम्मान ग्रहण पछि पत्रकार नेपालीले नेपाली सञ्चारमाध्यमका खोज पत्रकारीताको अभ्यास कम भएको बताए । यस्ता खाले पुरस्कारले सबैलाई खोजि पत्रकारीतामा रुची बढ्ने उनले बिस्वास गरे ।
प्रतिभा छनौट समितिका संयोजक राज बहादुर गुरुङ्गले धेरै पत्रकारहरु मध्ये नेपालीलाई छनौट गरिएको बताए । छनौट समिति सदस्य माधब पनेरुले पत्रकार नेपालीको संक्षिप्त परिचय दिएका थिए ।
सो अबसरमा पत्रिकामा कार्यरत दुईजना कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
