
काठमाडौ, भदौ ३१ –
भूकम्प अति प्रभावित क्षेत्रमा पोषिलो खानेकुराको साटो जंक फुड बाँडेकाले स्वास्थ्य समस्या देखिएको डाक्टरले बताएका छन् । विशेषगरी जंक फुडले बालबालिकामा बढी असर परेको पाईएको छ ।
डाक्टर अरुणा उप्रतीका अनुसार भूकम्प अति प्रभावित क्षेत्रका बालबालिकामा कुपोषण देखिनुको एउटा कारण जंक फूड पनि हो । सरकार र गैरसरकारी संस्थाले राहत वितरण गर्दा पौष्टिक खाना भन्दा चाउचाउ, बिस्कुट बाँडेकाले समस्या देखिएको डाक्टर उप्रेतीको भनाई छ । बाल रोग विशेषज्ञहरुका अनुसार जंक फुडका कारण बालबालिकालाई रक्तअल्पता पनि हुन्छ । कतिपय बालबालिका मोटोपनको शिकार हुन्छन् । जंक फुडले बालबालिकाको मानसिक र शारिरीक विकासमा समेत असर पर्छ । भूकम्प प्रभावित जिल्लामा जंक फुड बाँड्नु र त्यहाँका बासिन्दालाई घरको खाना खुवाउनु पर्छ भन्ने सन्देश नदिनुले स्वास्थ्य समस्या झनै बढ्ने अनुमान गरिएको छ । प्याकेटका खानेकुरा भन्दा पोषण भएका चिउरा, भटमास, रोटी, दालभात खान सन्देश दिनुपर्ने डाक्टर अरुणा उप्रेतीको जोड छ ।
यस्तै सरकारले प्रभावित क्षेत्रका बालबालिकाका लागि बाँडेको बालभिटा पनि धेरै अभिभावकले नखुवाएको पाईएको छ ।
