
रञ्जन अधिकारी पोखरा, ३१ भदौ । चर्चित गायन रियालिटि शो ‘बिग आईकन’को छैटौँ संस्करणमा म्यागेजिन पार्टनर जोडिएको छ । छैटौं बिग आईकनको म्यागेजिन पार्टनरका रुपमा युवामाझ लोकप्रिय ‘यस म्यागेजिन’ ले सहकार्य गर्ने भएको हो । पश्चिमाञ्चलकै नम्बर एक एफएम बिग एफएम १०१.२ को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको बिग आईकनमा समान लक्षित वर्ग भएकाले पनि यी दुई संस्था सहयात्रा गर्न ईच्छुक भएको बताएका छन् ।
काठमाण्डौंमा बिहिबार बिग एफएमका अध्यक्ष महेश भण्डारी र ‘यस म्यागेजिन’का अध्यक्ष कुमार थपलियाबीच सहमति भएको हो । सहमतिपत्रमा हस्ताक्षरपछि अध्यक्ष भण्डारीले बिग आईकनका संस्करणहरु थपिँदै गर्दा प्रत्येक वर्ष विभिन्न क्षेत्रबाट सहकार्यको हात अघि बढ्दै गएकोमा खुशी प्रकट गरे । ‘यो ग्राण्ड ईभेण्टमा हामीलाई जरुरत पर्ने क्षेत्रबाट सहयोगी हातहरु अघि बढिरहेका छन्’ – भण्डारीले थपे– ‘यो सहकार्यले युवामाझ हामी झन् परिचित बन्न योगदान पु¥याउने विश्वास लिएका छौं ।’
‘यस म्यागेजिन’ पूर्णतः युवा केन्द्रित म्यागेजिन हो । यसले एक दर्जन राष्ट्रिय स्तरका ईभेन्टहरुमा मिडिया पार्टनर तथा प्रिजेण्टरको भूमिका निर्वाह गरिसकेको छ भने विभिन्न मेलाहरुमा आबद्ध समेत भईसकेको छ ।
‘यस म्यागेजिन’ का अध्यक्ष थपलियाले निरन्तर ५ वर्षसम्म गायन प्रतियोगिता आयोजना गरी उच्च स्थान ओगटिसकेको बिग आईकनमा जोडिन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताए । युवा लक्षित म्यागेजिन र गायन क्षेत्रमा भविष्य खोजिरहेका युवालाई लक्षित गरी आयोजना हुने बिग आईकन सहकार्य गर्न आवश्यक महसुस गरी यस वर्षदेखि जोडिएको जनाउँदै उनले निरन्तर सहकार्य गर्न ईच्छुक रहेको बताए । ‘बिग आईकनको प्रभावकारिताले पनि हामी लालायित भयौं’– थपलियाले अघि भने– ‘यो सहयात्राले पक्कै यो संस्करणमा नौलो स्वाद पस्कनेछ ।’
छैटौं संस्करणको बिग आईकनमा टाईटल सहित विभिन्न स्पोन्सर आबद्ध भईसकेका छन् । सामसुङ मोबाईलले लगातार चौथो पटक टाईटल स्पोन्सर गरेपछि यो वर्ष ‘छैटौं सामसुङ मोबाईल बिग आईकन २०१५’ शीर्षकमा कार्यक्रम चल्नेछ । यस्तै, सबटाईटल स्पोन्सरमा फेरि पनि कान्साई नेरोल्याक पेन्ट्स नेपालले सहकार्य गरेको छ । प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथलीले सहकार्य गर्दा को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी जोडिएको छ । टेलिभिजन पार्टनरमा एभिन्युज टेलिभिजन रहेको छ । बाँकी स्पोन्सरहरु केहि सातामै टाईअप भईसक्ने अध्यक्ष भण्डारीले बताए । यतिबेला गायन रियालिटि शो बिग आईकनको लागि आवेदन फाराम खुल्ला छ । गायन प्रतिभाहरुका लागि आवेदन फाराम निःशुल्क भर्ने व्यवस्था गरिएको एफएमले जनाएको छ ।
