
पोखरा, ७ असोज ।
प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय महत्व बोकेको हिमाली जिल्ला मुस्ताङ्गको मुक्तिनाथ गाविसलाई विहीवार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नरहरी वराल, स्थानिय विकास अधिकारी तथा खोप समन्वय समितिका अध्यक्ष वलदेवप्रसाद जोशी र जिल्ला स्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले संयुक्त रुपमा गाविस सचिव, यज्ञ प्रसाद शर्मा, स्वास्थ्य चौकी प्रमुख नयाबहादुर विष्ट र महिला स्वास्थ्य स्वयंसेविका माया गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरी पूर्ण खोप गाविसको घोषणा गरिएको हो ।
गा.वि.स अन्र्तगतका ९ वटै वडाका सवै वालवालिकाहरुले तोकिएको उमेर समय भित्र सवै खोपको मात्रा पुरा गरेको सुनिश्चित गरिएकोले उक्त गाविसलाई जिल्लाकै आठौ पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गका खोप अधिकृत वद्री आचार्यले जानकारी दिनुभयो ।
गाविस सचिव यज्ञप्रसाद शर्माको अध्यक्षतामा भएको घोषणा सभामा मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नरहरी वराल, स्थानिय विकास अधिकारी वलदेवप्रसाद जोशी, जिल्ला स्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवाली, खोप अधिकृत वद्री आचार्य लगायतले वोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, नागरिक समाज, संघसंस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको विशाल रयालीे, वाजागाजा प्लेकार्ड सहित गाउ परिक्रमा गरी झारकोट स्वास्थ्यचौकी स्थित घोषणा सभामा परिणत भएकोे थियो ।
यसअघि स्थानिय राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, वडा नागरिक मञ्च, विद्यालयका शिक्षक विद्यार्थी, स्थानिय गैरसरकारी संस्थाको सक्रियतामा उक्त गाविसका प्रत्येक घरमा पुगी वालवालिकाहरुले खोपको मात्रा पुरा गरिएको सुनिश्चित गरिएकोले उक्त गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने निर्णय गरिएको थियो ।
कार्तिक महिनाभित्र जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत यस अघि कुन्जो, मार्फा, टुकुचे, जोमसोम, कागवेनी, छृसाङ, लोमान्थान गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भइसकेको र वाकी रहेका गाविस पनि पूर्णखोपको प्रकृयामा अगाडि वढेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
