
पोखरा,७ असोज ।
पोखरा वृद्धाश्रमको १९ औं वार्षिक साधारणसभा असोज १४ गते हुने भएको छ । पोखरा वृद्धाश्रम परिसरमा नै अक्टोवर १ अर्थात् विश्व ज्येष्ठ नागरिक दिवसका अवसर पारि साधरणसभा गर्न लागिएको संस्थाका अध्यक्ष वसन्तकेशव पराजुलीले जानकारी दिनुभयो ।
यसअघि ९ गतेका लागि तय भएको साधारणसभालाई ज्येष्ठ नागरिक दिवस समेतलाई दृष्टिगत गरी १४ गते गर्न लागिएको हो । २०५३ सालमा स्थापना भएको पोखरा वृद्धाश्रममा हाल ज्येष्ठ नागरिक सेवक सेविका गरी ६२ जना रहेका छन् ।
जन्मदिन, पितृहरुको सम्झना, वैवाहिक वर्षगाँठ, संस्थाको वार्षिकोत्सव लगायतका अवसरमा वृद्धाश्रममा पुगि जिन्सी तथा नगद सहयोग गर्ने प्रचलन रहेको छ । १९ औं वार्षिक साधारणसभाको अवसरमा वृद्धाश्रमले सहकारी, बैंक तथा अन्य वित्तीय संस्थाहरुलाई पनि आफ्ना वार्षिकोत्सव कार्यक्रम वृद्धाश्रम परिसरमा मनाउन समेत अनुरोध गरेको छ ।
साधारणसभामा गत वर्षको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामि आर्थिक वर्ष ०७२÷७३ को कार्यक्रम तथा वजेटका विषयमा छलफल हुने भएकाले आजीवन सदस्य, मानार्थ सदस्य, शुभचिन्तक एवं ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई सहभागि भईदिन समेत अध्यक्ष पराजुलीले आग्रह गर्नुभएको छ ।
