पर्वतमा कृषि क्षेत्रको बजेट सवा तीन करोड

Share:

लक्ष्मीप्रसाद सापकोटा 

पर्वत,७ असोज । पर्वत जिल्लामा कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा रु.३ करोड १० लाख भित्रिएको छ । जिल्लाका ४७ गाउ विकास समिति र १ नगरपालिकामा कृषि सम्वन्धी गतिविधि गर्नका लागि उक्त बजेट भित्रिएको हो ।
जसमध्ये चालु बजेट रु.३ करोड रहेको छ भने पुँजीगत बजेट रु.१० लाख रहेको छ । तलब, स्थानीय भत्ता, फिल्ड भत्ता महंगी भत्ता शिर्षकमा रु.१ करोड १६ लाख ३० हजार, पानी तथा विद्युत, संचार भाडा, इन्धन, मर्मत सम्भार, विमा तथा कार्यालयसम्वन्धी परामर्श लगायत विविध शिर्षकमा रु.४० लाख ७० हजार बिनीयोजन भएको छ ।

त्यसैगरी सिप विकास तालिम, जनचेतना, कार्यक्रम खर्च, अनुगमन मुल्यांकन र भ्रमण शिर्षकमा रु.१ करोड ४३ लाख र भवन निर्माण, फर्निचर तथा मेशीनरी औधार र पुँजीगत सुधारमा रु.१० लाख विनियोजन भएको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

त्यस्तै सुन्तला जात फलफुल विकास आयोजना, व्यावसायीक तरकारी उत्पादन तथा बीऊ विजन, आत्मनिर्भर आयोजना, व्यावसायिक मकै तथा भटमास उत्पादन आयोजना, कृषि प्रविधि सेवा विस्तार आयोजना, खाद्यान्न, दलहन तथा मौरीपालन र च्याउँ खेतीका लागि पनि प्राथमिकताका साथ बजेट बिनीयोजन भएको छ ।

त्यसैगरी फलफुल विकास कार्यक्रम, कफी प्रवद्र्धन, र अन्य आयआर्जनका कार्यक्रमहरुमा पनि झण्डै रु.१ करोड भन्दा बढि रकम विनियोजन भएको छ । यस वर्ष सुन्तलाजात फलफुल विकास आयोजनामार्फत ४० हेक्टर क्षेत्रफलमा थप गर्ने योजना रहेको छ । जसवाट ३ हजार ५ सय १० मेट्रिक टन सुन्तला जातका उत्पादन गर्ने पनि कार्यालयको योजना रहेको छ । त्यस्तै २० हेक्टर क्षेत्रफलमा तरकारी खेती विस्तार गरी १२ मेट्रिकटन उत्पादन हुने भएको छ ।

त्यस्तै धानवाली, मकैवाली, गहुँवाली र तोरीवाली बृद्धिका लागि पनि प्राथमिकताका साथ कार्यक्रमहरु अघि सारिएको छ । जिल्लामै उन्नत जातका बिऊ पनि उत्पादन गरीने भएको छ । यस वर्ष १ सय ६० वटा मौरीघार वितरण गरिने भएको छ । त्यस्तै हिउँदे फलफुल १७ हेक्टर र वर्खे फलफुल २१ हेक्टर क्षेत्रफलमा विस्तार गर्ने योजना पनि अघि सारीएको जिल्ला कृषि विकास कार्यालय पर्वतले बिहीवार सार्वजनिक गरेको कार्यक्रममा उल्लेख गरिएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कार्यालयमा स्वकिृत भई आएको कार्यक्रम र बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
स्थानिय विकास अधिकारी भिमबहादुर कुँवरले जिल्ला विकास समिति र जिल्ला कृषि विकास कायालयबिच समन्वय गरेर कृषिसम्वन्धी कार्यक्रमहरु अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बरिष्ठ कृषि विकास अधिृकत बासुदेव रेग्मीले जिल्लाको कृषि क्षेत्रको अवस्था र चालु आर्थिक वर्षमा संचालन गरिने कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख, गैरसकारी संस्था, सरकारी कार्यालयका प्रमुख र अन्य सरोकारवाला र कृषकहरुको पनि सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: