
रञ्जन अधिकारी पोखरा, ८ असोज / नागरिकताको नाम र जन्ममिति कारण देखाउँदै सेवा निवृत्त भएपछि पेन्सनमा समस्या भएको भन्दै नेपालका भूतपूर्व भारतीय सैनिकहरुले नागरिकता समस्या तुरुन्त समाधान गरी पेन्सन उपलब्ध गराउन नेपाल र भारत सरकारसँग माग गरेका छन् ।
विशेषगरी सन् १९९० साल अघि केहि सीमित जातिले मात्र जागिर पाउने व्यवस्था रहेकाले भिन्नै थर लेखाएर भर्ती हुन बाध्य भएको भन्दै उनीहरुले अहिले नाम र जन्ममितिको कारण देखाएर सेवा गरेको पूर्ण कागजपत्र हुँदाहुँदै भारत सरकारले भुपुहरुलाई पन्छाउन खोजेको उनीहरुको गुनासो छ । लामो समयदेखि गण्डकी धौलागिरी क्षेत्रमा संघर्ष समिति नै गठन गरी उनीहरुले आफ्नो माग पुरा गराउन दबाब दिँदै आएपनि भारतीय दुतावासले अटेरी गरेको र नेपाल सरकार गृहमन्त्रालय तथा परराष्ट्रमन्त्रालयले समेत स्वदेश भित्रिने रेमिट्यान्सका सवालमा गम्भीर नबनेको उनीहरुले दुःखेसो पोखे ।
आफ्नो वास्तविक नामथरको नागरिकता मेल नखाँदा पेन्सन लिन नपाएको र कतिपय भुपुहरु मृत्युपछि उनीहरुका श्रीमतीले पेन्सन लिन नसकेकाले तत्काल समस्याको हल गर्न उनीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । अन्यथा, मंसीर १ देखि भारतसम्मै पुगेर अनसन बस्ने सम्मको आन्दोलनका कार्यक्रम तय गरिने संघर्ष समितिका सल्लाहकार समेत रहेका नेपाल राष्ट्रिय भुपु सैनिक तथा प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी धौलागिरी ईन्चार्ज क्याप्टेन लालकाजी गुरुङले बताए ।
संघर्ष समितिले नेपाल सरकारका गृहमन्त्रीको प्रमुख आतिथ्यता एवं भारतीय राजदुतको आतिथ्यतामा असोज २५ मा वृहत भेला आयोजना गर्ने समेत उनले बताए । ‘हामीले गृह, परराष्ट्र, भारतीय पेन्सन क्याम्प पोखरा, दुतावास काठमाण्डौंमा सयौं पटक डेलिगेशन गयौं, तर भएन’ – उनले भने– दई देशको मन्त्रीस्तरीय बैठकमा समेत ध्यानाकर्षण गरायौं । अब पनि भएन भने आन्दोलनको विकल्प छैन ।’
भारतले भर्ती हुने समयमा सिट रोलमा भएको नाम, थर र जन्म मिति अनुसार नै पेन्सन दिनुपर्ने नत्र नेपाल सरकारले सोहि अनुसारको नागरिकता उपलब्ध गराउन पर्ने उनीहरुको माग छ । बहुविवाह गरेकाले पेन्सन नपाउने जस्तो नीति मान्य नहुने भन्दै उनीहरुले पारिवारिक पेन्सनका लागि बहुविबाहको उपयुक्त कानुन बनाउनुपर्ने माग गरेका छन् ।
भूपू सैनिकको नाम फरक भएपनि दुबै नाम गरेको व्यक्ति एउटै हो भनी सरकारी निकायले प्रमाणित गरेको पत्रको आधारमा पेन्सन दिनुपर्ने माग गर्दै नेपाल भारतीय भुपू सैनिक कल्याणकारी समिति, कास्कीका अध्यक्ष गजबहादुर गुरुङले भुपू सैनिकको मृत्यु पछि आश्रित परिवार समस्यामा परेको अवगत हुाहुँदै भारतीय दुतावासले नागरिकताको कुरा उठाएर अड्को थापिरहेको बताए ।
‘भारतीय सेनामा भर्ती हुदाँ पहिले कुनै कागजपत्र केहि नचाहिने ? जन्म मिति नचाहिने ? उचाई पुग्यो, हट्टाकट्टा भेट्यो पुग्यो ।’ उनले भने– ‘अहिले सेवा अवधि पुरा गरेपछि पैसा नदिन अनेक कुरा निकालेर अड्को थापिएको छ ।’
नागरिकता र पेन्सन पट्टामा नाम फरक भएपनि व्यक्ति एउटै भएको प्रमाणीत गरेपछि आश्रित परिवारलाई पनि पेन्सन दिएकोमा भारतले नियम परिर्वतन गरी नागरिकता र पेन्सन पट्टामा एउटै नाम हुनुपर्ने नियम बनाएकोले अहिले हजारौं पेन्सनबाट वञ्चित हुनुपर्ने अवस्था आएको नेपाल राष्ट्रिय भुपु सैनिक तथा प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष एवं संघर्ष समिति सल्लाहकार सुवेदार मनबहादुर गुरुङले बताए ।
भारतीय भूपूहरु नेपाल नै फर्केर यहाँ योगदान गरिरहेको र पेन्सनवापतको रकम नेपालमै भित्रिएकाले राज्यले पनि आफ्नै ठानेर उचित सहयोग गर्नुपर्ने समिति कास्कीका सचिव तथा संघर्ष समिति सहसचिव लेफ्टिनेन्ट धर्मदत्त तिमिल्सिनाले बताए । समितिले गत वर्ष असोजमा पनि यस्तै आफ्ना मागबारे जानकारी गराएको थियो । नेपालमा करिव तीन लाख भुपू गोर्खा सैनिक भएको अनुमान समितिले गरेको छ भने भारतीय पेन्सन क्याम्पस पोखरा रामबजारबाट करिव ६३ हजार भुपु सैनिक र तीनका आश्रित परिवारले पेन्सन लिने गरेका छन् ।
