मधेशी र पहाडी समुदायबीच सद्भावपूर्ण सम्बन्ध रहनुपर्नेमा जोड, पोखरामा सद्भाव ¥याली निकालिने

Share:

रञ्जन अधिकारी पोखरा, ९ असोज / राजनैतिक अस्थिरताका कारण तराई मधेश क्षेत्रमा विषम परिस्थिति उत्पन्न भएका बेला मधेशी र पहाडी समुदायबीच सद्भावपूर्ण सम्बन्ध रहनुपर्ने खाँचो औंल्याईएको छ । मधेशमा रहने पहाडी समुदाय र पहाडमा रहने मधेशी समुदायबीच एकता, सद्भाव र भातृत्व सम्बन्ध रहिरहनुपर्ने र आन्दोलनका क्रममा असामाजिक तत्वले खेल्ने ठाउँ पाउने भएकाले यसतर्फ पनि सचेत बन्नुपर्नेमा जोड दिईएको छ ।

शान्ति र सद्भावका लागि नागरिक अभियान, पोखराले शनिबार आयोजना गरेको सद्भाव अन्र्तक्रियामा यहाँ स्थित पहाडी र मधेशी समुदायका अगुवाहरुले देशभित्र अहिले देखिएका समस्या राजनीतिक नेतृत्वले अविलम्व वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै हिमाल, पहाड, तराईका सबै जनता मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए ।

अभियानका संयोजक समेत रहेका मानवअधिकारकर्मी नेता टेकनाथ बरालले पहाडमा मधेशी समुदायलाई तथा मधेशमा पहाडी समुदायलाई गरिने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए । मुलुकले नयाँ संविधान पाईसकेको अवस्थामा अब मुलुक शान्ति, अग्रगमन र अमनचयनको दिशामा अघि बढ्नुपर्ने भएकाले असन्तुष्ट पक्षलाई वार्ता र संवादमार्फत सहमतिमा ल्याउन सरकारले जोड दिनुपर्ने उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मिनराज काफ्लेले मधेशमा उत्पीडनमा रहेका समुदायको हकअधिकार लागि भन्दै आन्दोलनको आँधी ल्याएका नेताहरुलाई बेलैमा चिन्न आग्रह गर्दै मधेशी दाजुभाइ राष्ट्रलाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने बताए । उनलेराजेन्द्र महतोहरुका आलिसन बंगला काठमाण्डौं भिमसेनगोलामा रहेकाले उनीहरुबाट थारु, डोमहरुको कल्याण नहुने बताए । मधेशका नागरिक समाज सुतेर नबस्न पनि उनले आग्रह गरे ।

कार्यक्रमको संयोजन गरेका नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पोखरामा बसोबास गर्ने तराईमधेशबासीको धारणा बुझ्ने र सद्भावपूर्ण सम्बन्ध कायमका लागि अन्र्तक्रिया आयोजना गरिएको जनाउँदै नेपालभित्र सबै नेपाली अट्ने अटाउने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

विद्यार्थी संघसंगठनका तर्फबाट बोल्दै अनेरास्ववियू कास्कीका अध्यक्ष शेखर गौतमले तराई मधेशमा बलेको आगोको रापको ताप अब सबैठाउँमा पुगेकाले अब सद्भावको खाँचो परेको बताउँदै हिमाल, पहाड, तराईका सबै नेपालीले राष्ट्र हितलाई सोचेर अघि बढ्नुपर्ने बताए ।

चिकित्सा क्षेत्रका अग्रज डा. निरज दुवेले आफू नवलपरासी भारतीय सीमा नजिकको बासिन्दा भएपनि २२ वर्षदेखि पोखरामा रहँदा कुनै विभेद सामना गर्नुनपरेको स्मरण गर्दै मधेशमा पनि पहाडीयाको संख्या बढ्दै गएको उल्लेख गरे । मधेशवासी भारतीय हुन नचाहने भन्दै उनले राज्यले तुरुन्त जायज मागको सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

बनविज्ञान अध्ययन संस्थान पोखराका जीवनाथ पाण्डेले २३ वर्षअघिदेखि पोखरा बसाईंका क्रममा मधेशी हुँ भन्ने भान नपरेपनि अहिले राजनीतिक अवस्थाले परिस्थिति बदलिएको अनुभूति सुनाए । उनले नेपाली नेपालीबीच सम्बन्धमा दरार आउने स्थिति नआओस् भन्ने कामना पनि गरे ।

राजविराज घर भएका राजेश कुमार गुप्ताले मधेशीका अंगीकृत नागरिकताधारीलाई राष्ट्रप्रमुख जस्ता असान्दर्भिक मागहरुबाहेक जायज मागका सवालमा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले नागरिक समाजले दबाब दिनुपर्ने खाँचो समेत औंल्याए ।

कैलालीका भुवेश पन्तले पदले सम्मान पाएपनि आम मधेशी समुदायले पोखरामा समेत विभेदको सामना गर्नुपरेको भोगाई सुनाउँदै पहाडबाटै तराई बसाईं सरेर आफूहरु अहिले मधेशी बनेको जनाए । ‘थारु कमैया कमलरीहरु सबैभन्दा पिछडिएका हुन् । उनीहरुका माग सम्बोधन नगर्दा टीकापुर घटना घट्यो ।’ उनले भने– ‘दुई वर्ष बालक मारिँदा सर्वत्र निन्दा हुँदा वीरगञ्जको हाटबजारमा पसेर प्रहरीले अन्धाधुन्द गोली चलाउँदा मरेका चार वर्षीय बालकको किन चर्चा हुँदैन ?’

पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका रामबाबु मण्डलले हामीबीच असमझदारी भेदभाव नभएजस्तै सबै समुदायलाई आत्मसम्मान हुने किसिमको वातावरण हुनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयका उपप्राध्यापक दीपेन्द्र यादवले देशका सबै क्षेत्रमा मधेशी, दलितलाई वा सोहि समुदायबीच पनि विभेद हुँदै आएको भन्दै अहिले मधेशको आन्दोलनले पहाडमा मात्रै होईन तराईमधेशी बढि पीडित भएको बताए ।

बन क्याम्पसका प्राध्यापक उदयकुमार सिंहले देश हामी सबैको भएकाले मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । ‘नेपालको राष्ट्रिय झण्डामुनी नै हामी छौं । हामी भारतीय हुन चाहदैंनौं ।’ उनले भने– ‘केहि असमाजिक तत्वले खेल्न खोजेका छन्। समयमै मधेशीका जायज मागलाई पुरा गरी राष्ट्रलाई बचाऔं ।’ यस्तै बन क्याम्पसकै उपप्राध्यापक डा. जीतनारायण शाहले भारतमा गरेको जागिर छाडेर आफ्नै देश नेपालका लागि गर्छु भनेर पोखरा आएको स्मरण गर्दै मधेशीलाई भारतपरस्त सोच्न नहुने बताए ।

राजविराजका रोहित झाले राजनीतिक सवाल मात्र नभई सामाजिक मुद्धा पनि मधेश आन्दोलन हो भन्दै १९ जना मर्दा राजाको मन छोएर पछि हटेको तर ४३ जना मर्दा समेत दलहरुले मधेशबासीलाई वास्ता नगर्नु विडम्बना भएको बताए । उनले कपाल काट्ने, जुत्ता सिउने, तरकारी फलफूल बेच्नेलाई विभेद सम्बन्धमा सोध्नुपर्ने भन्दै कार्यक्रममा डाक्टर, प्राध्यापकहरुलाई मात्र बोलाएर सद्भाव नहुने बताए ।

कवाडी व्यवसायी समितिका सचिव भगनारायण कलवार, जनकपुर घर भएका विद्यार्थी दीपेश शर्मा लगायतले जानेबुझेकाहरुबाटै विभेद हुने गरेको बताउँदै मधेशका जायज माग पुरा गर्न ढिलाई गर्न नहुने बताए ।

अधिवक्ता राजु अधिकारीले पाँच सात जना नेताले मधेशी जनतालाई गुमराहमा राखेको भन्दै पहाडमा मधेशी झैं मधेशमा पहाडी पनि सहज तरिकाले जीवनयापन गर्ने वातावरण हुनुपर्नेमा जोड दिए । उनले सिंगो देशका लागि जुट्नुपर्ने बेला सिंगो मधेशका लागि भन्दै हिँड्न नहुने बताए । महिला अगुवा लक्की कार्की क्षेत्रीले विश्व ग्लोबल भिलेज बन्दै गर्दा सानो देशलाई प्रदेशको नाममा विभाजन गर्नुनहुने बताईन् । गीता लामिछाने विष्टले जहाँ जसको बाहुल्य क्षेत्र हो अल्पसंख्यकहरु चेतनशील नै भएपनि विभेदमा पर्ने बताईन् । प्राध्यापक कृष्ण केसीले आनदोलनलाई तत्कालिन समस्या देखेकै कारण अहिले जटिल रुप लिएकाले एक माग सम्बोधन गर्दा अहिले अर्को पक्ष असन्तुष्ट हुने अवस्था आएको बताए ।

वाईसीएल कास्कीका सचिव सुवास पौडेलले भारतले नाङ्गो हस्तक्षेप हुँदा मधेश आन्दोलन उग्र हुँदै गएको बताए । कार्यक्रमको सञ्चालन अभियानका एक अगुवा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले गरेका थिए ।

यसैबीच, पोखरामा सोमबार विहान सद्भाव ¥याली निकालिने भएको छ । मधेश र पहाडबीचको सम्बन्ध सद्भावपूर्ण रहेको सन्देश दिन ¥याली आयोजना गरिने भएको हो । विहान साढे सात बजे भिमसेनचोक महेन्द्रपुलदेखि चिप्लेढुंगा, न्युरोड हुँदै पोखरा सभागृह पुगी ¥याली समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: