
रञ्जन अधिकारी पोखरा, ९ असोज / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू), पृथ्नीनारायण क्याम्पस कमिटिले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताका प्रतिनिधिले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेको विरोधमा प्रदर्शन गरेको छ ।
आफुले चाहेजस्तो नेपालका नेताहरुबाट नभएपछि एकपछि अर्को धम्कीपूर्ण भाषामा विज्ञप्ती जारी गर्दै आएको भारतले मधेश आन्दोलनको असहजता भन्दै कारण देखाएर भुपरिवेष्ठित राष्ट्रको अधिकारमाथि कुल्चेर नाकाबन्दी गरेकोमा भत्र्सना समेत गरिएको कमिटिका अध्यक्ष राजन शर्मा पराजुलीले जनाए । अन्तर्राष्ट्रिय सन्धी सम्झौताको उल्लघंन गर्दै आफुलाई असली लोकतन्त्रवादी भन्न रुचाउने भारतले नेपालप्रति गरेको व्यवहारको अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन समेत सरकारलाई ध्यानाकर्षण गराईएको छ ।
विरोध प्रदर्शनका क्रममा शनिबार भारतीय प्रधानमन्त्रीको मोदीको पुत्ला दहन गरिएको छ । क्याम्पस गेट अगाडि पुत्ला दहनपछि आयोजित कोणसभामा बोल्दै स्ववियू पिएन क्याम्पसका उपसभापति शुशिल बस्नेतले पानी नखाई अंग्रेजसँग लड्न तयार रहेको नेपाली अब पनि लड्न तयार रहेको बताए ।
गण्डकी अञ्चल सचिव भरतमान कोन्मे गुरुङले छिमेकी भएको नाताले सहयोग सद्भाव व्यक्त गर्न पाउने तर मधेशका जमिन्दारलाई उचालेर नेपाललाई सिक्किमीकरण गर्ने योजना कुनै हालतमा सफल हुन नदिने बताए ।
अनेरास्ववियू पिएनका पूर्व अध्यक्ष गण्डकी अञ्चल सहसचिव अशोक पौडेलले नेपालीहरुका सामु क्युवाली हुने कि भुटानी हुने रोज्ने समय आएको बताउँदै अब साम्राज्यवादी अमेरिका विरुद्ध स्वतन्त्रताका लागि क्युवाली झैं भारतको हस्तक्षेप विरुद्ध लड्न तयार रहेको बताए ।
कार्यक्रममा स्ववियू सहसचिव ठाकुर शर्मा पौडेल, क्यामपस जिल्ला कमिटि सहसचिव शंकर सैंजु, क्याम्पस जिल्ला कोषाध्यक्ष पवनकाजी अधिकारी, भुगोल जिल्ला कमिटि सचिव राजेन्द्र बस्यौंला, कोषाध्यक्ष सन्तोष अधिकारी, क्षेत्र नं. २ अध्यक्ष अशोक केसी , क्षेत्र नं. २ युवा संघ संयोजक देश केसी लगायको सहभागिता थियो । कार्यक्रमको संचालन कमिटि अध्यक्ष राजन शर्मा पराजुलीले गरेका थिए ।
