‘बिर्सेर नि हाम्रो होईन तराई भन्नुहुन्न, तराईबासी आफन्त हुन् पराई भन्नुहुन्न’, सद्भाव -याली निकालियो

Share:

रञ्जन अधिकारी पोखरा, ११ असोज / मधेशमा चर्किएको आन्दोलनले नेपालीको सद्भावपूर्ण सम्बन्ध नबिग्रियोस् र एकता कायम छ भन्ने सन्देश दिन पोखरामा सद्भाव ¥याली निकालिएको छ । शान्ति र सद्भावका लागि नागरिक अभियान, पोखराले कास्कीमा क्रियाशील विद्यार्थी संगठनहरुको सहकार्यमा सोमबार विहान आयोजना गरेको सद्भाव ¥याली भिमसेन चोक, महेन्द्रपुल बाट सुरु भई चिप्लेढुंगा, न्युरोड हुँदै पोखरा सभागृह पुगेर सद्भाव सभामा परिणत भएको थियो ।

राजनैतिक अस्थिरताले सामाजिक अस्थिरता नहोस् भन्ने कामनाका साथ आयोजित ¥यालीमा नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा तथा महिला समूह, कलेज विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो भने बाक्लो संख्यामा मधेशी नागरिक तथा उनीहरु सम्बद्ध संघसंस्थाले ब्यानर सहित संस्थागत सहभागिता पनि जनाएका थिए । कलवार समाज, कवाडी संकलन व्यवसायीहरुका साथै मधेशतराईबासी विद्यार्थीहरुको पनि उपस्थिति थियो । विद्यार्थीहरुले हिमाल पहाड तराई, कोहि छैनौं पराई, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, बिर्सेर नि हाम्रो होईन तराई भन्नुहुन्न, तराईबासी आफन्त हुन् पराई भन्नुहुन्न, पश्चिम कोहि पूर्व घर आँगन त एउटै हो, छरिएर बसे के भो सन्तान त एउटै हो लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सद्भाव सभामा बोल्दै अभियानका संयोजक मानवअधिकारबादी नेता टेकनाथ बरालले मधेशमा चर्किएको आन्दोलनले त्यहाँ पहाडी समुदायका व्यक्ति धपिने अवस्था नहोस् भन्दै जहाँ छौं, जसरी बसेका छौं, यसरी नै एकताभावले बस्नुपर्ने बताए । ‘मधेशका साथीहरुले त्यहाँ आगो बलेको छ, मधेशी जनता झन् पीडित छन् भन्नुभो । उनले थपे– ‘हो, असन्तुष्ट पक्षलाई वार्तामा समेटेर अब विवाद समाधान गर्नुपर्छ ।’

मुलुक धेरै दिन संक्रमणकालमा रुमल्लिन दिन नहुने भन्दै अब संविधान जारी भईसकेकाले शान्ति, अग्रगमन अमनचयन कायम गर्दै विकासको पथमा लम्कनुपर्ने बताए । ‘संविधान त संशोधन गर्न सकिन्छ, यसमा बखेडा झिकेर अत्यावश्यक वस्तु रोक्ने गरी कहिँकतै आन्दोलन गर्नुहुँदेन ।’ उनले भने– ‘नेपाली मनले सोच्नुस्, यस्तो तरिकाले जनधनको क्षति हुन्छ । सबै नेपाली मर्छन् ।’ उनले आन्दोलनको बहानामा नाकाबन्दी जस्तो अवस्था सिर्जना गरेकाले अब नेपालका नेताहरु सबै मिलेर अघि बढ्नुपर्ने बेला विदेशीलाई खेल्ने मौका दिन नहुने पनि बताए ।

मधेशी बुद्धिजीविका तर्फबाट बोल्दै पृथ्वीनारायण क्याम्पस प्राध्यापक रामबाबु मण्डलले मधेशमा बलेको आगोको रापले सबैलाई पोल्नुपर्ने र मधेशी समुदायको जायज मागलाई सम्बोधन गर्दै त्यहाँको अवस्था शान्त बनाउन भूमिका खेल्न नागरिक समाजलाई आग्रह गरे । उनले यहाँ असमझदारी, भेदभाव नभएजस्तै मुलुकका कुनै कुनामा पनि नेपालीबीच सद्भावपूर्ण सम्बन्धको खाँचो औंल्याए । कार्यक्रमको संचालन अभियन्ता एवं सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: