नेवा खलः कास्कीको साधारणसभा, सरकारको कमजोरीले नाकाबन्दी लम्बियोः बिजुक्छे

Share:

बिग न्युज पोखरा, १६ असोज / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनताले दुःख पाउनुमा सरकारको कमजोरी रहेको बताएका छन् । ‘भारतले लगाएको अघोषित नाकाबन्दी सरकारकै कमजोरीका कारणले लम्बिएको हो ।’ उनले भने– ‘सरकारको कुनीतिक असफलताका कारण नाकाबन्दी लम्बियो ।’ उनले सरकारले भारतलाई दबाब दिन नसक्दा नै यो स्थिति आएको बताए ।

नेवा खलः कास्कीको पोखरामा शनिबार भएको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सरकार डराएको बताए । ‘प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघमा नगएर गल्ती गरे’– उनले भने– ‘यसले भारतले गरेको नाकाबन्दीका बारेमा अन्र्तराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने मौका गुम्यो।’

उनले भुकम्पमा सहयोग गर्ने दाता राष्ट्रहरुलाई धन्यवाद र नाकाबन्दीको बारेमा विश्वलाई सुनाउने मौका पाएपनि आसेपासेको कुरा सुनेर राष्ट्रसंघको महासभामा नजाँदा देशमा समस्या झन् थपिएको बताए । बिजुक्छेले यसो भनिरहँदा प्रधानमन्त्रीको सट्टामा महासभामा सहभागी उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने दातृ राष्ट्रलाई धन्यवाद दिने काम मात्र गरे भने नाकाबन्दीको बारेमा खुलेर बताउन सकेनन् ।

बिजुक्छेले नेवारी संस्कृति सभ्यता पनि भएकाले यसलाई जीवन्त राखिराख्नुपर्नेमा जोड दिए । नेवा खलः कास्कीका उपाध्यक्ष तथा संस्कृतिविद् तीर्थ श्रेष्ठले नेवा छेँ को निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले धेरै ठूलो बलिदान पछि प्राप्त संविधान पेट्रोल नपाएर थन्किने गाडी जस्तै नबनोस् भन्दै सबै जातजातिले अपनत्व महशुष गर्ने खालको संविधान हुनुपर्नेमा जोड दिईन् ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा थकाली सेवा समाजका निवर्तमान अध्यक्ष अम्बर तुलाचन, धर्म शिला बुद्ध विहारका दायक सभाका अध्यक्ष कृष्णमान गुभाजु, जवाहरलाल श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा नेवा छेँ निर्माणका लागि नगद एक लाख भन्दा बढी सहयोग गर्ने सहयोग दाताहरु तथा लामो समय नेवाः खललाई नेतृत्व दिएर अमूल्य योगदान गरेको भन्दै निवर्तमान अध्यक्ष प्रकाशमान पालिखेलाई सम्मान गरिएको थियो । साधारणसभाको बन्द सत्रमा महासचिव प्रदीप रञ्जितले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको महासचिव रञ्जितले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: