भारतले अघोषित नाकाबन्दी हटायो, सीमा नाकामा आवागमन सहज बनाउन निर्देशन

Share:

१६ असोज, काठमाडौं । भारतले झण्डै दुई सातादेखि नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी हटाउने भएको छ । वीरगञ्ज भन्सारबाहेक अन्य नाकामा जारी रहेको ‘अघोषित नाकाबन्दी’ हटाउने भएको हो ।

नाकाबन्दी लगाएको स्वीकार नगरेको दिल्लीले नेपालसँगको सीमा नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देशन दिएको छ । विदेश मन्त्रालय स्रोतका अनुसार नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका छ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन शनिबार निर्देश गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट दिल्ली फिरेपछि सुरु भएको परामर्श तथा नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको संशोधनको सहमति हेरेर तत्कालबाट लागू हुने गरी नाका खुला गरिएको स्रोतले जनायो । प्रमुख नाका वीरगञ्ज राजनीतिक गतिविधि बाँकी रहेको भन्दै अन्य नाकामा आयात निर्यातलाई सहज बनाउने सरोकारवालाहरुलाई निर्देशन दिएको हो।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबल र नेपाली राजदूत दीपकुमार उपाध्यायबीच वार्ता भएको थियो ।राजदूत दीपकुमार उपाध्यायले पनि शनिबारबाटै सबै नाका सुचारु हुने अवस्था भए पनि स्थिति पूर्ववत रुपमा सहज बन्न अरु केही दिन लाग्ने प्रतिक्रिया दिए । भारतबाट नेपाल सामान ढुवानी हुने मुख्य नाकाहरुमा बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुर आदि हुन् । नाकाबन्दीले नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आपूर्तिमा असर परेको छ। भारतीय आयल निगम(आइओसी)ले सोमबारबाट नेपाल आयल निगमले मागेजति पेट्रोलियम दिने प्रतिवद्धता जनाए

यस्तै उद्योगपति विनोद चौधरी पनि नेपाली नेताहरुको सन्देश लिएर नयाँ दिल्ली पुगेका छन् ।स्रोतका अनुसार नाकाबन्दीको स्थितिबाट नेपालको आर्थिक तथा सामाजिक अवस्था कष्टपूर्ण बन्दै गएपछि र सरकार परिवर्तनको प्रकृया सुरु भएपछि आवश्यक संवादका लागि उद्यमी विनोद चौधरी, प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट ‘सहजकर्ता’ बनेर शुक्रबार दिल्ली आएका थिए । चौधरीले शुक्रबार र शनिबार प्रधानमन्त्री कार्यालयका बरिष्ठ पदाधिकारी, विदेश मन्त्रायका अधिकारीसहितसँग नेपाल स्थितिबारे परामर्श गरेका थिए ।

नेपालमा नयाँ संविधान घोषणा भएपछि असन्तुष्ट भारतले नेपाल-भारत सीमामा अवरोध गर्दै आएको थियो । जसका कारण काठमाडौंसहित देशभर इन्धन अभाव भएको छ र, जनजीवन प्रभावित भएको छ । तर, भारतले नाकाबन्दी लगाएको अस्वीकार गर्दै नेपालतर्फ भएको आन्दोलन र असुरक्षालाई अबरोधको कारण देखाउँदै आएको थियो ।

पछिल्लो पटक सरकार र तराई मधेसमा आन्दोलन मधेसी मोर्चाको वार्ता सकारात्मक भएको र सरकारले मोर्चाको प्रमुख दुई माग पुरा गर्न संविधान संशोधनको निर्णय गरेको थियो । कूटनीतिक तथा राजनीतिक पहल र मधेसी मोर्चाको माग सम्बोधन गर्ने सरकारको निर्णयपछि भारतले आपूर्ति सहज बनाउने निर्णय गरेको विश्लेषण गरिएको छ ।

भारतले नाकाबन्दी खोलेको जानकारी परराष्ट्रलाई

नेपालमा संविधान बनाउँदा आफ्नो सल्लाह नमानेको भन्दै दुई सातादेखि लगाएको नाकाबन्दी भारतले खोलेको पुष्टि परराष्ट्र मन्त्रलायले गरेको छ । नेपालका ६ वटा मूख्य नाकासहितका भन्सारमा लगाइएको अघोषित नाकाबन्दी खोलिएको जानकारी भारतीय विदेश मन्त्रालयले गराएको परराष्ट्र श्रोतले जनाएको छ । शनिबार साँझ भारतीय विदेश मन्त्रालयले परराष्ट्रलाई पठाएको जानकारी अनुसार सुरक्षा व्यवस्था मजबुत भएका सबै नाकाबाट सहजरुपमा गाडी नेपाल भित्रन दिन सम्बन्धित सरोकारवाला कार्याललाई भनिएको छ ।

वीरगञ्जस्थित रक्सौलसहितका केही नाकामा सुरक्षा जटिलता भएकाले आपूर्ति व्यवस्था सहज हुन केही दिन लाग्नेछ’, भारतीय विदेश मन्त्रालयको भनाइ उधृत गर्दै परराष्ट्रका एक अधिकारीले भने, ‘सुरक्षा व्यवस्था सहज भएका अन्य नाकामा भने अब कुनै अवरोध रहने छैन ।’

कमेन्ट गर्नुहोस्
Share: