
काठमाडौं, असोज १७ – नेपालको उन्नाईस वर्ष मुनिको एएफसी च्याम्पियनसिप फुटबलमा छनौट हुने संभावना लगभग सकिएको छ ।
इरानमा भएको छनौट प्रतियोगिताको दोश्रो खेलमा कुवेतसँग १–१ को बराबरीमा रोकिएपछि नेपालको छनौट हुने गणितीय संभावना मात्र कायम छ । ४ टिम रहेको समूह इको नेपाल १ अंकसहित तालिकाको तेश्रो स्थानमा छ ।
नेपालले छनौट चरणको अन्तिम खेलमा मंगलबार जोर्डनसँग खेल्ने छ । पहिलो खेलमा नेपाल आयोजक इरानसँग १०–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
इरानसँगको खेलको तुलनामा कुवेतविरुद्ध राम्रो खेलेपनि नेपालले जित्न सकेन । बिमल घर्ती मगरले ६१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यसको १० मिनेटपछि कुवेतले बराबरी गोल फर्काएको थियो ।
आउँदो वर्ष हुने प्रतियोगितामा आयोजक बहराइन स्वत छनौट भइसकेको छ । अब १० वटा समूहका विजेता र ५ वटा उत्कृष्ट उपविजेता प्रतियोगितामा छनौट हुने छन् ।
