
रञ्जन अधिकारी पोखरा, १७ असोज / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतकै कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने सम्भावना औंल्याएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु हुँदा भारतले निम्तो दिन थालेको र अब नेताहरु दौडधुपमा लागेकाले प्रमुख दलहरुबीच नै सहमति नहुने उनको भनाई छ ।
नेवाः पत्रकार पुचः कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा विजुक्छेले भद्र सम्झौता अनुसार ओलीलाई नै दिनुपर्ने भएपनि ओलीकै व्यक्तिगत, एमालेभित्रकै र काँग्रेसको समस्याले पनि गाह्रो हुने बताए । ‘प्रचण्डजीलाई दिल्ली बोलाईंदैछ । एमाले, एमाओवादी लगायतका दलहरु मिलेर सरकार बनायो भने दिल्लीले रोक्न सक्छ ।’ उनले भने– ‘खेल अझै बाँकी नै छ ।’
उनले आफ्नो पार्टी भने अब बन्ने सरकारमा पनि नजाने स्पष्ट पारे । पार्टीलाई जनताले प्रतिपक्षमा बस्ने गरी मत दिएकाले सरकारमा नगई प्रतिपक्षमै बसेर खबरदारी गरिरहने बिजुक्छेले बताए । उनले काँग्रेस एमाले एमाओवादी जसको नेतृत्वमा सरकार बनेपनि केहि फरक नहुने तर्क पनि गरे । जसले जनमुखी कार्यक्रम ल्याउँछन्, चित्तबुझ्दो प्रस्ताव र कार्यान्वयन प्रतिबद्धता गर्छन् उसैलाई सहयोग गर्ने विजुक्छेको भनाई थियो ।
भारतले लगाएको नाकाबन्दी प्रसंगमा नेमकिपा अध्यक्ष बिजुक्छेले नाकाबन्दी नै नलगाएको बताउने गरेको भारतले घोषित रुपमै खुलाउन भनेको खबर आउनु हाँस्यास्पद रहेको बताए । उनले भारतले अघोषित नाकाबन्दी लगाएर छिमेकी देश नेपालमाथी शत्रुतापूर्ण व्यवहार गरेको टिप्पणी गरे । ‘छिमेकी देशमाथी नाकाबन्दी लगाउनु भनेको शत्रुतापूर्ण व्यवहार हो, यो एक प्रकारले युद्धकै आमन्त्रण हो ।’ उनले थपे– विश्वका सबै देशहरुका युद्ध पहिले नाकाबन्दीबाटै सुरु भएका छन् ।’ उनले अमेरिकाले कोरियालाई ६० वर्ष तथा क्युवा जस्तो भुपरिवेष्ठित देशलाई ५० वर्ष नाकाबन्दी लगाउँदा पनि उनीहरु नझुकेको दृष्टान्त दिँदै क्युवामा पनि ईन्धन खानी नभएपनि कहिल्यै नझुकेकाले कसैसँग नझुकेको नेपाल पनि यसरी नै रहिरहनुपर्नेमा जोड दिए । तर सरकारले कुटनीतिक पहल नगरी असफल बनेकोमा उनको गुनासो छ ।
भारतको नाकाबन्दीले नेपालमा धेरै क्षेत्र प्रभावित भएको र यसले देशलाई नै समस्यामा पारेको बताए । उनले देशलाई बेलाबेलामा हुने यो समस्याबाट मुक्त पार्न चिनियाँ नाका खोल्नुपर्ने धारणा व्यक्त गरे । कुटनीतिक मर्यादा विपरित गतिविधिमा नेपाल चुप लाग्ने र भारतले उल्लंघन गर्दै जानुले पनि समस्या निम्तिएको उनको ठहर छ । राजदुत नियुक्ति राजनीतिक आस्थाका आधारमा नभई उसको योग्यता, क्षमता र निर्भिकताका हिसाबले गरिए मात्र दुई मुलुकको सम्बन्ध नबिग्रने बताए ।
नेवाः पत्रकार पुचः कास्की संयोजक सञ्जय मल्लको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन सन्देश श्रेष्ठले गरेका थिए ।
