फेवातालमा डुंगा चालकको डुबेर मृत्यु,

Share:

रञ्जन अधिकारी पोखरा, २१ असोज/ पोखराको फेवातालमा डुंगाबाट खसेर चालकको मृत्यु भएको छ । तालबाराही मन्दिरबाट एक नेपाली यात्रु र दुई पर्यटकलाई लिएर किनारतर्फ फर्कदैं गर्दा दिउँसो साढे १२ बजे डुंगा चालक निशान मगर तालमा खसेर डुबेका थिए । प्रत्यक्षदर्शीका अनुसार एक्लै डुंगा खियाउँदै गरेका मगर अचानक तालमा खसेका हुन् ।

फेवातालमा डुंगा चलाई जीविकोपार्जन गर्दै आएका २२ वर्षीय मगर पोखरा बैदाममा बस्दै आएका थिए । लेखनाथ १३ घर भएका मगरको बुबाआमा नभएको र डुंगा व्यवसायी समितिकै संरक्षणमा रहेर दिनभर डुंगा खियाउँदै जीवनयापन गर्दै आएको प्रहरीले जनाएको छ । मगर पौडी खेल्न समेत जान्ने भएपनि रिंगटा लागेर एक्कासी खसेर सिधै डुबेको अनुमान गरिएको छ ।

डुबेको दुई घण्टा पछि सशस्त्र प्रहरीको टोलीले उनको शवलाई तालबाट निकालेको थियो । उद्धारका लागि परिचालित सशस्त्र प्रहरीका गोताखोरको टोली खटिएको थियो । उद्दारकहरुले करिब ४० फिट गहिराई बाट शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।

डुंगामा सवार पर्यटकहरु भने सकुशल छन् । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । शव बुझ्न विहीबार अबेरसम्म कोहि पनि अस्पतालमा नआएको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: