रञ्जन अधिकारी पोखरा २१ असोज / पोखराको आकाशमा उडिरहेको एक एयरक्राफ्ट सम्पर्कविहीन भएको छ । पोखरा अल्ट्रालाईट कम्पनीको एयरक्राफ्ट बेपत्ता भएको हो । पोखरा विमानस्थलबाट विहीबार यात्रु लिएर उडेको नाइन एन ए एल आई कलसाईनको क्लोज एयरक्राफ्ट जहाज बेपत्ता भएको हो ।
एक घण्टाको लागि यात्रु लिएर अन्नपुर्ण क्षेत्र तर्फ उडेको जहाज उडान भरेको ६ मिनेटमै सम्पर्क विहिन भएको नागरिक उड्डयन कार्यालय पोखराले जानकारी दिएको छ । कार्यालयका अनुसार बिहान १० बजेर ३५ मिनेटमा उडेको जहाजको अन्तीम सम्र्पक १० वजेर ४१ मिनेटमा भएको थियो । जहाज ११ वजेर ३५ मिनेटमा पोखरा विमानस्थल फर्किसक्नुपर्ने थियो ।
जहाजमा पाइलट रसियन नागरिक भ्यालरी बुट्रिन सहित यात्रु साउथ अफ्रिकन नागरिक एलिजा वेथ वेइल सवार थिए । जहाज सहित दुबै जनाको अबस्था अज्ञात छ । वेपत्ता जहाजको खोजीको लागि विहीबार दिनभर पोखरा अल्ट्रालाईट कम्पनीकै अर्को ओपन एयर एयरक्राफ्ट सहित हेलिकप्टर परिचालन गरिएको थियो । पोखरा अल्ट्रालाईट कम्पनीले गत वर्ष कार्तिक १० गते देखि दुई वटा क्लोज एयरक्राफ्ट भित्राएको थियो । एउटा एयरक्राफ्ट सम्पर्कविहीन भएपछि अब एउटा मात्र बाँकी छ । एयरक्राफ्ट दुर्घटनामा परेको आशंका गरिएको छ । यद्यपी, भेट्न भने सकिएको छैन ।
नोटः तस्विरको हराएको जहाज नभएको प्रष्ट पार्दछौं ।
