फिफा अध्यक्ष ब्लाटर, महासचिव भ्लाके र युएफा अध्यक्ष प्लाटिनीमाथि तीन महिने प्रतिबन्ध

Share:

काठमाडौं, असोज २१ । विश्व फुटबल महासंघ (फिफा)कोे इथिक्स कमिटीले औपचारिक निर्णय गर्दै अध्यक्ष सेप ब्लाटरलाई तीन महिना लामो प्रतिबन्ध लगाएको छ ।

कमिटीले बलाटरकासाथै युरोपियन फुटबल महासंघ (युएफा)का अध्यक्ष मिचेल प्लाटिनी तथा फिफा महासचिव जेरोम भ्लाकेलाई पनि ९० दिनका लागि फुटबलसँग समबन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी निलम्बन गरेको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा व्याप्त आर्थिक अनियमिततालगायतका विषयमा छानबिन जारी रहेकाले ब्लाटर, प्लाटिनी तथा भ्लाकेलाई निलम्बन गरिएको फिफाको इथिक्स कमिटीले जनाएको छ ।

फिफालाई नोक्सानी हुने गरी गैरकानुनी तरिकाले एक कम्पनीलाई ठेक्का दिएको आरोपमा स्वीस अभियोजनकर्ताहरुले ब्लाटरविरुद्ध मुद्दा दायर गरेपछि फिफाको इथिक्स कमिटीले यो निर्णय गरेको हो ।

७९ वर्षीय ब्लाटरले उक्त ठेक्कामा सहमति जनाएबापत हालका युरोपियन फुटबल महासंघ (युएफा)का अध्यक्ष मिचेल प्लाटिनीलाई १५ लाख अमेरीकी डलर घुस दिएको आरोप लागेको छ । तर, ब्लाटर र प्लाटिनी दुबैजनाले आफ्नो बचाव गर्दै आएका छन् ।

केही समयअघि ब्लाटरले पद त्याग्ने घोषणा गरेसँगै प्लाटिनीलाई फिफाको भावी अध्यक्षको रुपमा हेरिँदै आएको थियो । तर, प्लाटीनीसमेत घुस कान्डमा मुछिएपछि फिफा अध्यक्षको लागि हुने चुनावमा जोर्डनका राजकुमार अलीलाई फाइदा पुग्ने सम्भावना बढेको छ ।

कमेन्ट गर्नुहोस्
Share: