
काठमाडौं, २२ असोज । भारतीय कम्पनीसँग सम्झौताको तयारी गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग(फास्टट्रयाक) योजनाको सूचना चुहाएको भन्दै सरकारका मुख्यसचिव सोमलाल सुवेदीलाई कारवाही प्रस्ताव गरिएको छ ।
भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलयन्ध्र निधीले आफूले भारतीय कम्पनीलाई योजनाको ठेक्का दिन लागेको कुरा सार्वजनिक गरेपछि मुख्यसचिव सुवेदीलाई कारवाही गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका छन् । विहीबार विहान ८ बजेदेखि बसेको बैठकमा मन्त्री निधीले सरकारी सूचना चुहाएर योजना भारतलाई दिनबाट रोकेको भन्दै कारवाही प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ ।
झण्डै चार घण्टा बसेको बैठकमा सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरुले विरोध गरेपछि मन्त्री निधीको प्रस्ताव क्याविनेटले अस्वीकार गरेको छ । यो प्रस्तावमा छलफल हुँदा कांग्रेस र एमालेका मन्त्रीबीच भनाभन समेत भएको स्रोतको दाबी छ ।
अन्तिममा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री निधीको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकार गरेको घोषणा गरेका थिए । मन्त्रिपरिषदको आजको बैठक यो सरकारे अन्तिम बैठक थियो ।
-विमल योगी/दैनिक नेपाल
