देशले असोज २४ मा नयाँ प्रधानमन्त्री पाउने, ओली प्रधानमन्त्री बन्ने प्रबल सम्भावना, काँग्रेसको ढुलमुले प्रवृत्ति

Share:

आश्विन २२ / प्रधानमन्त्री पदका लागि शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । संसदको बैठकमा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका निम्ति आइतबार ११ बजे निर्वाचन हुने कार्यक्रम छ ।

संसदका महासचिव मनोहर भट्टराईद्वारा प्रकाशित निर्वाचन कार्यक्रममा शनिबार ४ बजेसम्म उम्मेदवारीको सूचना दिने, साढे ४ बजे उम्मेदवारको दर्ता क्रमअनुसार नामावली प्रकाशित गर्ने र आइतबार बिहान ११ बजेको बैठकमा ती प्रस्ताव निर्णयार्थ पेस गर्ने तालिका छ । राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दिइएको समयसीमा व्यर्थ भएपछि शुक्रबार राष्ट्रपति रामवरण यादवले संविधानको धारा २९८ (३) अनुसार बहुमतका आधारमा प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसदलाई पत्राचार गरेका हुन् ।

एमाओवादीको समर्थन भए कांग्रेसले उम्मेदवारी दिने नयाँ सरकारबारे कांग्रेस बैठक अनिर्णीत, निर्णयको जिम्मा तीन शीर्ष नेतालाई

कांग्रेसले एमाओवादीसहित मधेश केन्द्रित दलहरुसँग छलफल गरेपछि मात्रै सरकारको नेतृत्वका लागि दावी गर्ने या नगर्ने निर्णय लिने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीले नै सरकारको नेतृत्व लिनुपर्ने पक्षमा बहुमत देखिए पनि त्यसका लागि एमाओवादीको समर्थन प्राप्त हुने भएमात्रै पार्टीले उम्मेदवार दिने निष्कर्षमा कांग्रेस पुगेको हो ।

शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सरकारको नेतृत्व लिने र पार्टीभित्रै कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा औपचारिक निर्णय गर्न सकेन । बैठकमा सदस्यहरुले यी दुवै बिषयको निर्णय लिन माग गरेपछि कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले सरकारको नेतृत्वका लागि कांग्रेसले पहल थाल्ने बताउँदै तीन जनामध्ये जसको नेतृत्वमा सरकार बन्न सक्ने अवस्था हुन्छ त्यसैको आधारमा निर्णय हुने जानकारी गराएका थिए । केन्द्रीय बद्रि पाण्डेका अनुसार नयाँ सरकारबारे धारणा बनाउन तीन शीर्ष नेतालाई दिइएको छ । ‘उहाँहरु एउटा निष्कर्षमा पुगेपछि पुन: केन्द्रीय समितिबाट अनुमोदन हुन्छ,’ उनले भने ।

उपसभापति रामचन्द्र पौडेलले भने आफ्नो नाममा केन्द्रीय कार्यसमितिबाटै निर्णय लिईनुपर्नेमा जोड दिएका थिए । कोइरालाले अन्य दलसँगको छलफलपछि निर्णय गर्ने बताए । महामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र सहमहामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा आएको राय अनुसार अन्य दलसँग छलफल गर्ने र त्यसपछि निर्णय लिइनु उपयुक्त हुने बताएका थिए ।

बैठक लगत्तै सरकार निर्माणका बिषयमा कांग्रेस र एमाओवादीबीच छलफल भएको छ । कांग्रेससँग छलफल गर्नुअघि एमाओवादीले १६ बूँदे सहमति निर्माण हु‘दा भएको भद्र सहमति अनुसार नै तीन दलसहितको सयुक्त सरकार निर्माण हुनुपर्ने निर्णय लिएको थियो । प्रत्यक्षरुपमा एमालेलाई समर्थन जनाउने गरी निर्णय नभएको भन्दै एमाओवादीले कांग्रेसलाई समर्थन गर्ने ठाउँ राखेको कांग्रेस नेताहरुको दावी छ । एमाओवादीको समर्थन प्राप्त गर्नसके मधेश केन्द्रित दलको पनि समर्थन पाउन सकिने कांग्रेसको बुझाई छ ।

कांग्रेस भएन भने एमाओवादी : गगन

कांग्रेस नेतृत्वमा सरकार बन्न नसकेमा एमाओवादी नेतृत्वमा सरकार बनाउन पनि नेतृत्व तयार हुनुपर्ने धारण केन्द्रीय सदस्य गगन थापाले राखेका छन् । सरकार निर्माणका लागि कांग्रेसले एजेण्डा तय गर्नुपर्ने र त्यसका आधारमा सरकार निर्माणको पहल थाल्नुपर्ने बताउँदै थापाले भने, ‘हाम्रो प्रस्ताव मान्छ र देशले स्वाभीमान कायम राख्दै निकास पाउने अवस्था रहन्छ भने किन एमाअोवादी नेतृत्वमा सरकार नबनाउने ?’ थापाले तीन दलको एकताको अमुर्त कुरा गरेर मात्रै नहुने भन्दै त्यसको उद्देश्य प्रष्ट नभएको बताए ।

कांग्रेसले एमाओवादीसँग न भोट माग्यो, न एमालेलाई समर्थन गर्छु भन्यो

केन्द्रीय समितिमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनु पर्ने माग उठेपछि नेपाली कांग्रेसले एकीकृत नेकपा माओवादीसँग छलफल गरेको छ । तर, कांग्रेसले सरकारको नेतृत्व दाबी गर्दै समर्थन भने माग्न सकेन । विहान एमाले नेतृत्वसँग छलफल गरेको एमाओवादी नेतृत्व साँझ बालुवाटार पुगेको थियो । भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनमा जोड दिए । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको भन्दै प्रचण्डले त्यसअनुसार अघि बढ्नु पर्ने बताए । 

तर, कांग्रेस र एमालेबीच समझदारी हुन्छ भने सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल जो भएपनि फरक नपर्ने आफूहरुले प्रष्ट पारेको एमाओवादी कोषाध्यक्ष हरिबोज गजुरेलले जानकारी दिए । तर, छलफलमा कांग्रेस नेताहरुले न हामी सरकारको नेतृत्व गर्छौ, समर्थन गर्नुस् भन्यो न भद्र सहमति अनुसार एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने कुरामा सहमत जनायो । ‘तपाईहरुको कुरा सुन्यौं । हाम्रो पार्टीमा निर्णय भएको छैन मात्र भने’ एमाओवादीका एक नेताले भने । एमाओवादी नेताहरुका अनुसार बैठकमा कांग्रेस नेताहरुले आफूहरु पनि सहमतिकै पक्षमा रहेको मात्र बताएका छन् ।

सिटौलको मध्यस्थमा भएको छलफलपनि तीन नेतावीच चर्का चर्की

महामन्त्री कृष्णप्रसाद सिटौलाको पहलमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको साझा उम्मेदवार तय गर्न बसेको नेपाली काग्रेसका तीन शिर्ष नेताहरुको बैठकमा समेत चर्का चर्की परेको छ । बैठकमा प्रधानमन्त्रीले मैले संविधान बनाए अब यसलाई कार्यान्वयन गरेर समस्या समाधान गर्न पनि म आफै प्रधानमन्त्री बन्नु पर्ने आवश्यकता रहेकोले समर्थन गर्न बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई आग्रह गरेकाथिए ।

सभापतिको प्रस्तावमा आपत्ति प्रकट गर्दै देउवाले तत्काल संसदीय नेता चयनको निर्वाचन घोषणा गर्न माग गर्दै जो संसदीय दलको नेता बन्न सक्छ उही नै प्रधानमन्त्रीको उम्मेदवार हुने बताएका थिए । उपसभापति पौडेलले तपाईहरु प्रधानमन्त्री भईसक्नु भयो, अब मलाई छाड्नुस म एमाले र एमाओवादी लाई मिलाउँछु भनेर भनेका थिए । त्यसमा टिप्पणी गर्दै देउवाले आज विहान प्रचण्डलाई भेट्न जानु भएको थियो त मिलाउन सक्नु भयो ? भनि ब्यङग्य गरेका थिए । तीन नेताको आ आफ्नै अडानपछि महामन्त्री सिटौलाले पर्सि प्रधानमन्त्रीको निर्वाचन गर्नु पर्ने अहिलेसम्म तपाईहरु विवाद गरेर बस्नु भयो भने कहिले अरु दलसँग छलफल गरेर पार्टीको नेतृत्वमा सरकार बनाउने भनि विवाद नगर्न आग्रह गरेका थिए ।

क-कसले दिए ओलीलाई समर्थनको आश्वासन ?

संसदभित्र हाल सकाकात्मक देखिएको मत अन्तिम समयसम्म प्रभावित नभए कांग्रेसको समर्थन विनै आइतबार केपी ओली प्रधानमन्त्री बन्न सक्नेछन् । निर्णायक मानिएका एमाओवादी र राप्रपा नेपालले समेत समर्थनको आवश्वासन दिएपछि ओलीका लागि स्थिति अनुकुल बनेको हो । कांग्रेससहितकै समर्थनमा सरकार बनाउने ओलीको प्रयास जारी छ । यद्यपि कांग्रेस भित्र पनि उम्मेदवारी दिनुपर्ने माग प्रबल भएकाले ओलीले आफ्नो बहुमत जुटाउने कसरत तीव्र पारेका छन् । उनले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने १५ वटा साना दलसँग संयुक्त छलफल गरे । त्यहाँ उपस्थित दलहरुले समर्थन गर्ने आवश्वासन दिएका छन् । एमाओवादी र राप्रापा नेपालसँग छुट्टै छलफल गरे ।

एमाओवादीले विगतको ‘भद्र सहमति’ कार्यान्वयन गर्ने आवश्वासन ओलीलाई दिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि तीन दलबीचको सहमति तोडिए ओलीको पक्षमा समर्थन गर्ने आवश्वासन दिएका छन् । शुक्रबार रातिसम्म ओलीले पाएको आवश्वासनको हिसाब गर्ने हो भने ओलीको पक्षमा मत ३ सय २९ देखिएको छ । कांग्रेसले उम्मेदवारी दिएको अवस्थामा भने ओलीको पक्षमा उभिने दलहरुले आफ्नो आश्वासन बदल्न सक्ने संभावना यथावत् छ ।

कांग्रेस बिनै ओलीको पक्षमा शुक्रबारसम्म सकारात्मक मत
एमाले १८३
एमाओवादी ८३ (बाबुराम भट्राईले छोडेपछि)
राप्रपा नेपाल २५
राप्रपा १२
माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेकपा संयुक्त ३
राष्ट्रिय जनमुक्ति २
परिवार दल २
बहुजन शक्ति पार्टी १
अखण्ड नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा १
नेपा: राष्ट्रिय पार्टी १
जनजागरण नेपाल पार्टी १
समाजवादी जनता पार्टी १
मधेस समता पार्टी १
जम्मा ३२९

कमेन्ट गर्नुहोस्
Share: