​ओनसरी : छापामारदेखि सभामुखसम्म

Share:

काठमाडौँ : नेपालको इतिहासमा पहिलो महिला सभामुखको कीर्तिमान बनाउन सफल ओनसरी घर्ती मगरले यसअघि युद्धकालमा एउटा अर्को कीर्तिमान पनि बनाएकी थिइन् – २०५९ सालमा उनी पूर्वी नेपालको माओवादी सेनाका बटालियन कमिसार थिइन्। उनी बटालियनको पहिलो महिला कमिसार थिइन्।

२५ वर्षको उमेरमै केन्द्रीय सदस्य र बटालियन कमिसार बनेकी ‌ओनसरी ३८ वर्षको उमेरमा सभामुख बनिन्। प्रसाद घर्ती मगर र नौमती घर्ती मगरको कोखबाट तीन दाजु, चार दिदि बहिनीमध्ये माहिली ओनसरीलाई तीन कक्षा उत्तीर्ण गरेपछि बुवाले स्कुल छोडाउन चाहान्थे। संयोगले स्कुलको त्यसवर्षको वार्षिकोत्सवमा छात्राहरुतर्फ खेलाइएको ६ वटा खेलमा उनी प्रथम भइन्। कक्षामा दोस्रो। खेलकुदतर्फ ६ र कक्षाको दोस्रो पुरस्कारसहित एकैसाथ सातवटा पुरस्कार लिएपछि उनको बुवामाथि स्कुल छोडाउन नहुने दबाब पर्‍यो।

गाउँको स्कुलबाट प्राथमिक तह पार गरेपछि छिमेकी गाविस कोटगाउँमा निमाविसम्म पढिन्। सदरमुकाम लिबाङको बालउदय माविबाट एसएलसी उत्तीर्ण गरिन्। ०५२ मा लिबाङको बालकल्याण मावि उमावि बन्यो। ओनसरी भर्ना भइन्। तर पार्टीको आदेशमा स्कूल छाडेर जनयुद्धमा होमिइन् ।

जनयुद्ध सुरु नहुँदै बन्दूक पड्काइसकेकी थिइन्

सदरमुकाममा नौ कक्षामा पढ्दै गर्दा उनी अखिलको सहकमिटीमा थिइन्। तीनपटक प्रहरीबाट पक्राउ पनि परेकी थिइन्। ०५२ मा उनी तत्कालीन नेकपा (माओवादी)को एरिया सदस्य भइसकेकी थिइन्। २०५२ फागुन १ गते होलेरीस्थित इलाका प्रहरी कार्यालयमाथि आक्रमणमा उनी सहभागी भइन्। आक्रमणमा दुई जना महिला थिए, ओनसरी र तारा घर्तीमगर । उनले बन्दुक त जनयुद्ध सुरु नहुँदै पड्काइसकेकी थिइन्।

छापामार बन्ने चाहना

ओनसरी स्कूलमा हेप्न खोजे पुरुषमाथि पनि जाइलाग्थिन् । आफूलाई हेप्नेविरुद्ध प्रतिकार गर्न कराते पनि सिकेकी थिइन्। युद्ध सुरुभएपछि उनी छापामार बन्न चाहन्थिन्। उनी छापारको प्लाटुन पर्मेसनको सदस्य भइन्। दुई वर्ष छापामार बनिन्। दुई वर्षपछि उनलाई पार्टीले संगठनमा खटायो। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष बनिन्। पार्टीको एरिया इन्चार्ज बनिन् । फौजी जिम्मेवारीमा नभए पनि फौजी सहभागीता भने जनाइराखिन्।

गर्भवती हुँदा छहराबाट हाम्फालेर ज्यान जोगाइन्

०५४ तिर उनी एउटा इलाका इन्चार्ज थिइन् । पाखापानी गाविस उनकै इलाका पर्थ्यो। उनले पाखापानीमा रहेको प्रहरी चौकीमाथि आक्रमण गर्नुपर्ने प्रस्ताव पार्टीमा राखिन्। सर्भेका लागि उनी आफै गइन्। उनी त्यसबेला ७ महिनाकी गर्भवती थिइन्। तर सर्भेको अन्तिम दिन उनीसहित केही माओवादी कार्यकर्ता प्रहरी घेरामा परे। उनीहरु भागे। ओनसरीले छहराबाट हाम फालेर ज्यान जोगाइन्।

सोलुखुम्बुको पुरै जिल्ला र भोजपुर, रामेछाप, ओखलढुंगा, दोलखाको माथिल्लो भागलाई समेटेर बनाइएको सिलुचुङ आधार क्षेत्रको इन्चार्ज बनेकी थिइन् उनी। ०६१ को अन्तिममा उपत्यका र आसपासको जिम्मेवारी लिएर आइन्। जनआन्दोलन सुरु हुँदा उनी काभ्रे र रामेछापको इन्चार्ज थिइन्।

ओनसरी हेटौडा महाधिवेशन र विराटनगर सम्मेलनबाट एकीकृत माओवादीको केन्द्रीय सदस्यमा पुनः चुनिइन्। ११ वैशाख ०७१ मा भएको ५० सदस्यीय पोलिट्व्यूरो सदस्यका लागि भएको निर्वाचनमा उनी २९ औं नम्बरमा विजयी भएर पोलिट्व्यूरो सदस्य बनिन्।

सभासद् र १३ दिने मन्त्री

पहिलो संविधानसभामा उनी समानुपातिकबाट सभासद् बनिन्। उनी झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुद मन्त्री भइन्। उनले छैटौं राष्ट्रिय खेलकुद सुदरपश्चिममा गर्ने निर्णय गरिन्। पार्टीले नराम्रो पराजय भोगेको दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पा २ बाट जितिन्।

–पहिलोपोस्ट

कमेन्ट गर्नुहोस्
Share: